सभामुख र शीर्ष नेतावीचको बैठक बिना निर्णय सकियो, कांग्रेसको अडान कायमै


चैत २६, काठमाडौं । संसदको सम्भावित गतिरोध रोक्ने उदेश्यले प्रमुख दलका नेतासँग परामर्श गर्न सभामुख देवराज घिमिरेले बोलाएको बैठकले कुनै निर्णय गर्न सकेन। नेताहरुले आआफ्ना अडान नछोडेपछि बैठक निर्णय गर्न असफल भएको हो।

मुख्य विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछाने सहकारीको बचत अवैध अपचलनमा संलग्न भएको भनि संसदीय समितिमा परेको उजुरी र अन्य कार्बाहीका मागहरुबारे छानविन गर्न संसदीय समिति गठनको माग गरिरहेको छ। सरकारले आफ्नो माग उपेक्षा गरेको भन्दै कांग्रेस संसदको आगामी बैठक अवरुध्द गर्ने निर्णयमा पुगेको छ। दलका नेतासँग यही बिषयमा परामर्श गर्न सभामुखले बैठक बोलाएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल सहित बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो।

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले गृहमन्त्री रबि लामिछानेको नाम मुछिएको सहकारीको रकम अपचलनको बिषय छानविन गर्न संसदीय समितिको माग सम्बोधन नगरेकोले बैठक कुनै निर्णय गर्न असफल भएको बताए। उनले अब संसदका कुनै पनि बैठक र काम कारबाही अवरुद्ध भए त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने बताए।

उनले भने, ‘अहिलेसम्म सदासयपूर्वक प्रस्तुत भएका छौ, आफ्नो माग राखेका छौ। संसदलाई अवरोध गरेका छैनौ तर सरकार गैरजिम्मेवार ढङ्गले प्रस्तुत हँुदैछ । सरकार गम्भिर हुन सकेको छैन् र सरकारले हाम्रो संसदीय समितिको माग सम्बोधन नगरेको हुनाले अब संसदका कुनै पनि बैठक र काम कारबाही अवरुद्ध भयो भने त्यसको जिम्मेवारी सरकारले लिनु पर्छ।’

देशका विभिन्न सहकारीहरुमा रकम अपचलन गर्ने र दुरुपयोग गर्ने लगायतका कामहरु भएको भन्दै त्यसको छानविनको लागि आफूहरु अडानमा रहेको बताए।

उनले भने, ‘हाम्रो कुरालाई यथावत राख्यौं, लाखौं लाख नेपाली नागरिकको पैसा सहकारीहरुमा बचत गरिएको छ। देशका विभिन्न सहकारीहरुमा रकम अपचलन गर्ने, दुरुपयोग गर्नेलगायतका कामहरु भएका छन्। यो सन्दर्भमा बहालवाला मन्त्रीहरुकै पनि कुरा उठेको छ। हामीले त्यसमा संसदीय समिति माग गरेका छौ। हामीले हाम्रो कुरा स्पष्ट राखेका छौ।’

बैठकपश्चात गृहमन्त्री रवि लामिछानेले भने कुरा नटुङ्गिएको र फेरि बस्ने भएको बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?