बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी, एआइजीको नेतृत्वमा छानविन समिति
चैत २७, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को बलम्बुस्थित केन्द्रीय गोदाम घरमा सोमबार बेलुका आगलागी भएको छ। सशस्त्र प्रहरीका लत्ताकपडालगायत बन्दोबस्तीका सामान भण्डारण गरिएको गोदाममा सोमबार साँझ पौने ५ बजे आगो लागेको थियो।
काठमाडौं उपत्यकामा रहेका विभिन्न ९ वटा दलकलसहित खटिएका प्रहरी जवानहरूले राति अबेरमात्रै आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट ठूलो धनमाल नोक्सान भएको सशस्त्र प्रहरीले जनाएको छ । तर क्षतिको विवरण भने यकिन भइसकेको छैन।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सशस्त्र प्रहरीले आगलागीबारे छानविन गर्न आन्तरिक छानविन समिति बनाएको छ।
सशस्त्रका आइजी राजु अर्यालले सोमबार राति नै कार्यविभागका प्रमुख एआइजी वंशीराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानविन समिति गठन गरेका हुन् । सो समितिले आगलागीको कारण र क्षतिको विवरण यकिन गर्ने जनाइएको छ।
गोदाममा आगलागी भएपछि सोमबार साँझ नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले घटनास्थल पुगेर जानकारी लिएका थिए।
२०७२ को भूकम्पअघिसम्म हलचोकस्थित सशस्त्र प्रहरी बल मुख्यालय परिसरमै केन्द्रीय गोदाम घर थियो। भूकम्पले घर भासिएपछि हातहतियार र गोलीगट्ठा भण्डारण मात्रै हलचोकमा राखेर बाँकी बलम्बुमा छुट्टै भवन बनाएर सारिएको थियो।