बेलायतका सहरमा लिम्बु संस्कृतिको ‘रीत’


चैत २७, काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्म्सद्वारा निर्माण गरिएको लिम्बु भाषा संस्कृतिमा आधारित फिल्म ‘रीत’ बेलायतको प्रमुख सहर लण्डनसहित अक्सफोर्ड, स्वीन्डन, वलेस, वेस्टकेन्टलगायतका दर्जन बढी सहरमा प्रदर्शन हुने भएको छ।

फिल्मकी निर्मात्री आशा नेम्बाङले लिम्बु जातिको बिहे संस्कृतिमा आधारित यो फिल्मलाई यी सहरमा प्रदर्शन गर्ने निश्चित भएको बताइन्। उनी फिल्म प्रदर्शनका लागि हाल बेलायतमै छिन्।

लिम्बु जातिमा मागेर (मागी विवाह) र भगाएर (चोरी बिहे) गरी दुई तरिकाले विवाह हुन्छ। फिल्मका निर्देशक दिनेश लिङ्देनले बिहेपछि बेहुला पक्षबाट बेहुली पक्ष वा माइतीलाई बुझाउनु पर्ने रीत चलनलाई फिल्ममा देखाइने बताए।

फिल्मको निर्माता होमकुमार लावती, आशा नेम्बाङ र विष्णुकुमार इङ्नाम हुन्। फिल्ममा मान तबेबुङ र अशोक राईको संगीत, दिनेश माङमु लिम्बकोु नृत्य, मिक हाङ लिङदेनको प्रस्तुति, सागर केरुङको कथा छ।

फिल्ममा तान्छोहाङ इङ्नाम, विमला खजुम लिम्बु, लक्ष्मी योङहाङ, याशेली योङहाङ, सागर केरुङ, दिनेश माङमु, पुर्ण सेलिङ, नन्दु तुम्बापो, तेज मेन्याङबो, सोनु थोक्लीहाङ, भीम थेबेलगायतका कलाकारको अभिनय रहेको छ। फिल्म नयाँ वर्षको अवसरमा अमेरिकाको न्युयोर्क, टेक्सास, क्यालिफोर्नियालगायतका सहरमा पनि प्रदर्शन हुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?