चेतन कार्की र निशा स्मृति पुरस्कार घोषणा


चैत ३०, काठमाडौं । दिवंगत लेखक, गीतकार तथा निर्देशक चेतन कार्कीको स्मृतिमा स्थापित ‘चेतन कार्की स्मृति पुरस्कार’ र अभिनेत्री तथा मोडल निशा घिमिरेको स्मृतिमा स्थापित ‘निशा स्मृति पुरस्कार २०८१’ को घोषणा गरिएको छ।

परिवर्तन नेपालको कार्य सम्पादन समितिको बैठकले अभिनेता, निर्माता र निर्देशक आकाश अधिकारीलाई ‘चेतन कार्की स्मृति पुरस्कार २०८०’ प्रदान गर्ने निर्णय गरेको छ।

चलचित्रकर्मी मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रिय सम्मिलित छनोट समितिले दुई दशकभन्दा बढी समयदेखि नेपाली फिल्मको संरक्षण, प्रवद्र्धन, श्रीवृद्धि र पेशाकर्मीको उत्थानका लागि संस्थागत एवं व्यक्तिगत तवरले योगदान पु¥याएको भन्दै अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। पुरस्कारको राशी १५ हजार रुपैंयाँ रहेको छ। गत वर्ष यो पुरस्कार अभिनेता तथा निर्देशक देशभक्त खनाललाई प्रदान गरिएको थियो।

त्यस्तै निशा संरक्षण कोषका अध्यक्ष समाजसेवी दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको कोषको बैठकले विगत १५ वर्षदेखि नेपाली फिल्म, मोडलिङ र म्यूजिक भिडियोमा अभिनय गर्दै आएकी मोडल तथा अभिनेत्री अनु शाहलाई २० हजार रुपैंयाँ राशीको ‘निशा स्मृति पुरस्कार’, विगत १५ वर्षभन्दा बढी समयदेखि अभिनय, मोडलिङ र गायनमा सक्रिय बबिता ढकाललाई २० हजार रुपैंयाँ राशीको ‘निशा स्मृति प्रतिभा पुरस्कार’ र विगत २ दशक बढी समयदेखि चलचित्र पत्रकारितामा सक्रिय सञ्चारकर्मी गीता अधिकारीलाई १० हजार राशीको ‘निशा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार छनोट समितिमा समाजसेवी दाहालसहित चलचित्रकर्मी मोहन निरौला, अभिनेत्री पवित्रा आचार्य छन्।
पुरस्कार २०८१ वैशाख १३ गते प्रदान गरिनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?