पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना
वैशाख १०, काठमाडौं । आज काठमाडौं उपत्यकासहित बागमती, कोशी र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली हुनेछ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसकारण कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ।
सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशको तराई भूभागका केही स्थानहरुमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।