समाचार टिप्पणी : सुहाङको ‘लक्की सेभेन’ मत
वैशाख १९, काठमाडौं । २०८१ सालको पहिलो पन्ध्रौं दिनमा देशका दुई स्थानमा उपनिर्वाचन भए। इलाम क्षेत्र नम्बर २ मा संघीय संसद र बझाङमा प्रदेश सभा सदस्यको । दुवै क्षेत्रमा सत्ता गठबन्धनले जितेको छ, उम्मेदवार थिए एमालेका।
उपनिर्वाचनभरी इलाम भने निकै चर्चामा रह्यो। बझाङ अलि ओझेलमा थियो । इलाम चर्चाको पनि शिखरमा रहनुको कारण स्पष्टै थियो, पहिलो त त्यहाँबाट प्रतिनिधि सभाका लागि नयाँ सदस्य चुनिँदै थिए। दोस्रो, त्यो क्षेत्रमा उपनिर्वाचन हुँदा प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएका थिए।
संविधान सभाको दुई पटक अध्यक्ष र प्रतिनिधि सभाको पटक पटक सभामुख भइसकेका सुवास नेम्वाङलाई इलामको क्षेत्र नम्बर २ ले नै चुनेर पठाएको थियो। गएको भदौमा उनको आकस्मिक निधन भएपछि त्यो क्षेत्र रिक्त हुनपुग्यो । तसर्थ त्यसको परिपूर्ति गर्न उपनिर्वाचन अनिवार्य थियो, १५ वैशाखमा त्यही पद परिपूर्ति गरियो।
एमालेका उम्मेदवार सुहाङ नेम्वाङ आफ्ना दिवंगत पिताको उत्तराधिकारी बनेका छन्। गत निर्वाचनमा आफ्ना पितालाई झिनो मत अन्तरले पछ्याएका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई भारी मतले पछि पारेर सुहाङ प्रतिनिधि सभा सदस्य चुनिएका छन् २७ हजार ७ सय ७२ मत पाएर। उनी गठबन्धनका पनि उम्मेदवार थिए। डम्बरले एक्लै प्रतिष्पर्धा गरेर २१ हजार ९ सय ४२ मत पाए। कांग्रेसले घोषित रुपमा अरु कसैसँग गठबन्धन गरेको थिएन।
निर्वाचन प्रचार अभियानमा धुलो उडाउन अग्रणी देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी सहानुभूतिको पात्र मात्र बनेको छ। इलामले उसलाई त्यति सत्कार गरेन। उग्र शैलीका उम्मेदवार उभ्याएर रास्वपाले आफ्नै वजन घटाएको टिकाटिप्पणी भइरहेका छन्। बरु पहिचानको नारा लगाएका स्वतन्त्र उम्मेदवारले उल्लेखनीय मत पाएर आफ्नो परिचय भने स्थापित गरेका छन्।
उपनिर्वाचन सकिएको छ। बधाई सभा पनि समापन भएको छ। अब जित्ने प्रतिनिधि एकातिर र पराजितहरु अर्कातिर व्यस्त हुनेछन् । भूमिका बदलिएको छ भने समीक्षा गर्नेलाई समय प्रशस्त मिलेको छ।
जित्ने उम्मेदवारको परीक्षाको अवधि सुरु भएको छ । उनले गरेका वाचा र देखाएका सपनाहरु मतदाताले औंला भाँचेर गणना गरिरहने छन। पराजितले पनि फर्केर मतदातालाई धन्यवाद दिने उदारता र राजनीतिक संस्कार प्रदर्शन गर्छन् गर्दैनन् भनेर पनि हिसाबकिताब अवश्य नै हुने छ।
यहाँ अर्को महत्वपूर्ण पक्ष के छ भने उपनिर्वाचनका बेला गाउँगाउँ पुगेर मतदातालाई आफ्ना उम्मेदवारका पक्षमा मत याचना गरेका नेताहरुले स्थानीय जनताको दैनन्दिनको भोगाइ र कठिनाइहरु पनि देखे कि आश्वासन मात्र दिएर फर्किए ? उनीहरुको इमान र उत्तरदायित्व इलाम र बझाङका मतदाताले अवश्य पनि लेखाजोखा गर्ने नै छन्।
सरकारको नीति तथा कार्यक्रम आउने समय भएको छ। राष्ट्रिय बजेट पनि निर्माणको क्रममा छ। यस्तो अवसरमा ती दुइ क्षेत्रका जनताले भोगेका समस्यालाई प्रत्यक्ष देखेर आएका नेताहरुले समाधानको पहल पनि गर्लान् कि राजधानी ओर्लनासाथ बिर्से भन्ने कुरा निकट भविष्यमा देखिँदै जाने छ।
उपनिर्वाचनभरी इलाममा डेरा जमाएर बसेका कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, प्रचार अभियानमा पुगेका अर्का महामन्त्री गगन थापा, नेता शेखर कोइराला र अरु धेरै नेताहरु निर्वाचन क्षेत्रका गाउँगाउँ पुगेका थिए।
पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फे एमालेको निर्वाचन कमाण्डर नै थिइन। अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु पटक पटक इलाम पुगेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछाने पनि प्रचारमा पुगेका थिए भने स्वर्णिम वाग्ले लगायतका रास्वपा नेताले समेत गाउँको अनुहार प्रत्यक्ष देखेका थिए । अरु दलका नेता कार्यकर्ताको ओहोरदोहोर पनि कम थिएन।
निर्वाचनमा हारजित त हुन्छ नै। एउटाले जित्छ बाँकी अरु त हार्छन् नै। तर यो जित र हारले जनताको समस्याको समाधान गर्नेतिर लाग्न रोक्न मिल्ला र रु सम्भवतः नेताहरुसँग निर्वाचन क्षेत्रका जनताले यस्तो प्रश्न गरिरहेका हुनेछन्।
मत संख्या २७ हजार ७ सय ७२ एउटा सिम्वोल बनेको छ। सुहाङले पाएको यो मत प्राविधिक मूल्याङनको विषय मात्र बन्नु हुँदैन। न यो कुनै दल विशेषको मात्र हक लाग्ने मत हो। यो मतमा युवा पुस्ताको लगानी छ।
आशा र भरोसाको पनि सम्बन्ध छ। सुहाङ भलै एमालेका उम्मेदवार हुन् तर प्रतिनिधि सभामा प्रवेश गर्दैगर्दा उनीसँग युवा पुस्ताको मतदाता र आगामी निर्वाचनहरुमा मतदानयोग्य बन्दै गरेको नयाँ पुस्ताको पनि ध्यान जोडिन पुगेको छ। बधाई लिँदै गरेका सुहाङलाई अहिले नै धेरै जवाफदेही बनाउनु उपयुक्त नहोला।
तर यति त निश्चय पनि हो कि मत नम्बर २७७७२ एउटा सांकेतिक मत परिणाम हो। यसको योगफल ७ हुन्छ, जसलाई ‘लक्की सेभेन’ भन्ने गरिन्छ। सुहाङलाई यो मत ‘लक्की सेभेन’ नै साबित होस्, बधाई सहित शुभकामना