बडाहाकिमले छोरालाई जागिर त दिएनन्, सिकाईदिए अंग्रेजी


वैशाख २८, काठमाडौं । वरिष्ठ राजनीतिज्ञ विश्ववन्धु थापाले परिवर्तन भन्दैमा त्यो जनताको जीवन उकास्न सहयोगी भएन भने त्यसको कुनै अर्थ नहुने बताएका छन्। आज यहाँ आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ९७ वर्षिय थापाले उद्योग, शिक्षा र व्यापार व्यवसाय खोल्दा देश र जनताको समेत हित हुनेगरी हुनुपर्ने चर्चा गरे।

नेपालमा केबल कार सेवाका प्रथम प्रयोक्ता स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा आधारित पुस्तक विमोचन गर्दै थापाले केही पुराना अनुभव पनि सुनाए। २००८ सालमा गोरखाको बडाहाकिम भएर बस्दा केवलकारका संस्थापक श्रेष्ठलाई आफूले सानैमा अंग्रेजी भाषा सिकाएको प्रसंग कोट्याउँदै थापाले लक्ष्मणबाबु जीवनभर आफ्नो साथीजस्तो रहेको तर परिवारभन्दा नजिकको सम्बन्ध बनेको सुनाए। उनले केवलकार स्थापना गरेर सफलता पाएकोले लक्ष्मणबाबुको दूरदर्शी योजनाले देश र जनतालाई लाभ पुर्याएको बताए।

‘लक्ष्मणका पिताले मेरो छोरालाई जागिर दिनुपर्यो भन्दै सानो केटालाई लिएर मसँग आए। मान्छे सानो छ, पढ्नुपर्ने उमेरको छ कसरी जागिर दिने बरु पढाउ न भनेर सल्लाह दिएँ। पढ्न त पढ्छु नै भन्छ तर अंग्रेजी पढ्छ रे भनेर उनले भने। मैले भने म अलिअलि अंग्रेजी जान्दछु, साँझतिर सधैं मेरामा पठाईदिनु म पढाईदिउँला नि भने। भोलिपल्ट देखि त्यो सानो केटो आउन थाल्यो र मसँग अंग्रेजी पढ्यो। सिक्यो र पछि उच्च शिक्षा पनि पढ्यो। गरिखायो, सफल व्यावसायी भयो, त्यो व्यक्ति लक्ष्मणबाबु हो’ वयोवृध्द नेता थापाले विगतलाई सर्सरी सम्झिए।

लक्ष्मण बाबु श्रेष्ठले २६ वर्षअघि गोरखाको मनकामना मन्दिरसम्म पुग्नेगरी केबल कारको स्थापना गरेका थिए। यसलाई उदाहरण मानेर यतिबेला देशका विभिन्न भागमा केवलकारको स्थापना भैरहेको छ।

कुटनीतिज्ञ प्राध्यापक जयराज आचार्य र विवेक गौतमले अनुसन्धान गरेर तयार गरेको पुस्तक गरिखाने मानिसका लागि प्रेरणा स्रोत हुने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठले बताए। लक्ष्मणबाबु आफ्ना सहपाठी भएको सम्झँदै श्रेष्ठले आफ्नो खुट्टामा उभिएर गरिखाने एक उदाहरणीय व्यवसायी भनेर उनलाई सम्झिए।

प्राध्यापक आचार्यले लक्ष्मणबाबुको कर्मशील व्यक्तित्वलाई पुस्तकका रुपमा सार्वजनिक गर्न पाएकामा खुशी प्रकट गरे।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले केवलकारका संस्थापक श्रेष्ठसँग आफ्नो पारिवारीक सम्बन्ध भएकामा गौरव लागेको सुनाए। ‘एकजना सफल व्यवसायीको नातेदार सदस्य हुनु मेरा लागि गौरवको बिषय हो’ उनले भने।

छोरा राजेशबाबु श्रेष्ठले आफ्ना पिताको सफलताको चर्चा गर्दै पदचाप पछ्याईरहेको बताए। भतिज ध्रुबबाबु श्रेष्ठले लामो संगत गर्दाका क्षणहरु सम्झिए भने जेठी छोरीले कर्मशील पिता आफ्नो प्रेरणाको स्रोत भएको बताईन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?