फेकनको टोली अष्ट्रेलियामा, नेपाललाई शैशिक हव बनाउनु पर्नेमा जोड
जेठ ३, मेलबर्न अष्ट्रेलिया । फ्री एजुकेशनल कन्सल्टेन्सिज अर्गनाइजेसन नेपाल (फेकन)का प्रतिनिधिहरुको टोलीले सोमबार मेलबर्नमा नेपालको र अष्ट्रेलियाको शैक्षिक आदान–प्रदानका विषयमा छलफल गरेको छ। सेन्ट्रल अष्ट्रेलियन कलेज (सिएसी)को भवनमा भएको उक्त छलफलमा भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन, गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक मणिरत्न सापकोटा, न्याभका अध्यक्ष प्रेम उप्रेती, अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्स (एका)का अध्यक्ष रामचन्द्र पौडेललगायत सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
छलफलका क्रममा महावाणिज्यदुत योञ्जनले अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूका लागि आकर्षक गन्तव्य स्थलको रुपमा विकास गर्दै दुवै देशहरूबीचको सहयोग बढाउनु पर्ने धारणा राखेका थिए।
दूतावासले अनलाइन सूचना कार्यक्रमहरूमार्फत नेपाली विद्यार्थीहरूका लागि अष्ट्रेलियालाई शीर्ष चयनको रुपमा प्रवद्र्धन गरिरहेको भन्दै उच्च शिक्षा अध्यानपछि नेपाल फर्कनका लागि विद्यार्थीहरूलाई प्रेरित पनि गरेको बताए। उनले संस्थाले दिर्घकालिन योजनाका साथ अघि बढ्नु पर्ने भन्दै संस्थाले नेपाली विद्यार्थीलाई पुर्याएको आएको सहयोगका लागि धन्यवाद दिएका थिए।
भेटका क्रममा संस्थाका अध्यक्ष राजु निरौँलाले अष्ट्रेलियाले र नेपाल सरकारबीचको सहकार्यका अवसरहरू अन्वेषण गर्न पर्ने धारणा राखे। उनले दुई देशहरूबीचको शैक्षिक विद्यार्थी आदान–प्रदानको सुविधा बढाउन पहल गर्नुपर्ने धारणा राखेका थिए। नेपाल र अष्ट्रेलियामा शैक्षिक संस्थाहरूबीचको साझा सहकार्य स्थापित गरी नेपाललाई शैशिक हवका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।
विद्यार्थीहरूलाई उनीहरूको करियर लक्ष्यसँग मिल्ने अध्ययनको दिशामा मार्ग निर्देशन गर्दै अध्ययनपछि नेपालमा फर्कनका लागि विद्यार्थीहरूलाई प्रेरित गर्न संस्थाको मुख्य उदेश्य रहेको बताए।
फेकन केन्सल्टेन्सीहरूको छाता संगठन हो। ३५० भन्दा बढी कन्सल्टेन्सी सदस्य रहेको यस संस्थाले कन्सल्टेन्सीहरूलाई व्यवस्थित गर्ने, सरकारी निकायलाई शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयमा घच्घच्याउनेलगायत सामाजिक उत्तरदायित्वको काम गर्दै आइरहेको छ।