आज यी तीन प्रदेशमा पानी पर्ने, काठमाडौँको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
जेठ ३,काठमाडौं । आज देशका केही भूभागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी र मधेस प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली भएको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ।
विभागका अनुसार दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आज कोसी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन–चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।
अहिले काठमाडौँ उपत्यकाको तापक्रम १९ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ ।