राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ
जेठ ५, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले राजनीति फोहोरी खेल हो भन्ने भाष्य बदल्न युवा नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिले आयोजना गरेको ‘युवा’ विषयक गोष्ठीमा सांसद नेम्वाङले व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तन गर्दै जाँदा युवाको काँधमा धेरै जिम्मेवारी आइपरेको उल्लेख गरे।
उनले पुरानो नेतृत्वले युवालाई अवसर नै नदिएको भन्ने कुरा गलत भएको औंल्याए। उनले नयाँ पुस्ताले पुरानो पुस्ताको कामलाई सम्मान गर्दै युवाले राजनीति फोहोरी खेल हो भन्ने जस्ता भाष्यहरु चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
उनले भने, ‘राजनीति एकदमै फोहोरी खेल हो भन्ने जुन भाष्य छ अब तपाईं हामी मिलेर परिवर्तन गरेर अगाडि बढ्नुपर्छ। किनकी राजनीति कहिल्यै पनि फोहोरी हुँदैन । राजनीतिले सकारात्मक परिवर्तन ल्याउँछ, आर्थिक संमृद्धि ल्याउँछ, सुशासन ल्याउँछ। फोहोरी त केवल स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे भने त्यो फोहोरी हुन्छ।’
नेम्वाङले अग्रज, युवा र सबै एकजुट भएर राजनीतिको भाष्य बदल्न कसरी सकिन्छ त्यसमा निचोड निकाल्न लाग्नुपर्ने आवश्यकता औंल्याए। यस्तै उनले देशमा केही पनि हुँदैन, भविष्य छैन भनेर नकारात्मकता फैलाइएको भन्दै त्यो भाष्यलाई नेतृत्वले चिरेर अगाडि बढ्नु आजको आवश्यकता भएको बताए।
‘शुरुवात अब हामीबाटै गर्नुपर्छ, हामीले नै यसलाई परिवर्तन गर्दै लानुपर्छ। देशमै स्वरोजगारको वातावरण बनाउनुपर्छ। देशलाई समृद्धितर्फ लैजान हामीले सकारात्मक सोच राख्नुपर्छ,’उनले भने।
नेम्वाङले नेतृत्वले यो वा त्यो गर्यो नि भन्ने भ्रम सिर्जना हुनेगरी ‘अरे’ शब्दको प्रयोग गरेर हुँदै नभएको कामको बखान गर्ने प्रवृति बढेकोतर्फ जोड दिदै सत्य र तथ्यमा आधारित भएर बोल्नुपर्ने बताएका छन्।
‘अरे’ शब्द शब्दकोषबाटै हटाउनुपर्ने भन्दै उनले थपे, ‘आजभोली के भैरहेको छ भने यो पार्टीले यस्तो गर्यो अरेनि, यो मान्छेले यस्तो गर्यो अरेनि भन्दै भ्रम सिर्जना गर्ने काम भएको छ। त्यो भ्रामक कामले हामी जुन गन्तव्यमा पुग्न हिँडिरहेका छौं त्यो गन्तव्यमा ठूलोठूलो खाडल बनाउने काम गर्छ। त्यसैले हामी त्यो भ्रामक कुराबाट पर बसेर सामाजिक सद्भाव र एकतालाई कायम राखेर एकबद्ध भएर अघि बढ्नुपर्छ।’