संसद अवरोधप्रति सभामुख चिन्तित, अध्यादेशको बाटो खोज्न सकिने


जेठ ५, काठमाडौं । सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको अभिमतहरु राखेर निर्णय गर्ने ठाँउ बन्दक बनिरहेको बताएका छन्। शनिबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको चौथो साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको विषय उठाउने संसद आज बन्दक बनिरहेको प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘यो व्यक्तिगत टिप्पणीको कुरा होइन। अहिले संसदमा जे गतिविधिहरु भइरहेका छन त्यो राम्रो संकेत होइन। संसदमा के भइरहेको छ र के हुनुपर्छ यो सबैको चासोको विषय हो। किनभने संसदमा हुनुपर्ने वहस र छलफलहरु अगाडि बढ्न सकिरहेको छैन्। संसद बन्दक बनिरहेको छ। जनताका प्रतिनिधिहरुले जनताको अभिमतहरु राखेर निर्णय गर्ने ठाँउ आज अवरोध छ।’

उनले संसद सधैँ अवरुद्ध रहने हो भने संसदलाई अन्त्य गरेर अत्यादेशको माध्यमबाट कतिपय बाटोहरु खोल्नुपर्ने अवस्था आउन सक्ने बताए। उनले भने, ‘यस्तै चल्ने हो भने निकटमा आइरहेको बजेट पारित गर्ने कुरा अथवा यस्तै अन्य विषयहरुका लागि नयाँ बाटो खोज्नुपर्ने हुनसक्छ। अहिले सरकारकै बहुमत छ कि छैन भन्ने प्रश्न उठिरहेको अवस्थामा सरकारले बहुमत देखाउँछु भनेर बहुमतको लागि मिति पनि तोकेको अवस्था छ। यस्तो अवस्थामा संसद अवरुद्ध भयो भने के परिणाम आउँछ। त्यसैले यो बेला संसदलाई अन्त्य गरेर अत्यादेशको माध्यमबाट यस्ता कतिपय बाटोहरु खोल्नुपर्ने अवस्था आउँछ। अहिलेको अवस्थामा हामी गयौं भने प्रजातन्त्रलाई कसरी उपयोग गर्ने भन्ने कुरा फेरि वहसमा आउनसक्छ।’

हालकै प्रणाली अन्तरगत संसद रोकिएर बस्न सक्दैँन् र बस्नु पनि नहुने भन्दै यसमा निर्णय लिनको लागि सबैको साथ सहयोग आवश्यक भएको पनि उनको भनाइ छ। सभामुख घिमिरेले यतिबेला सरकार, व्यवस्थापिका र न्यायपालिकाको राष्ट्र र जनताप्रति भूमिका के हो भन्ने कुरा जनताले बुझने भएकाले यसको समीक्षा हुनुपर्ने औंल्याए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?