संसदभित्र बधाई नपाएको विश्वासको मत
जेठ ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट आज विश्वासको मत पाएका छन्। दाहालले यो समेत चारपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा फुट आएपछि त्यसको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूसँग बहुमत रहेको सिध्द गर्न परेकाले प्रधानमन्त्रीले विश्वासको मत मागेका थिए। एमाले सहितको सत्ता गठबन्धनमा रहेका दलहरुको मत प्रधानमन्त्रीले पाएका हुन्।
दाहालले विश्वासको मत मागिरहँदा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले वेल घेरेर नारा लगाईरहेको थियो । कांग्रेसको बैठक अवरुध्द गर्ने रणनीतिलाई साथ दिइरहेका अरु प्रतिपक्षी दल उठेर समर्थन जनाईरहेका थिए।
उच्च स्वरमा नाराबाजी भैरहेको सदनमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मत माग्न समय दिएका थिए। उत्तेजित मुद्रामा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षको तीखो आलोचना गर्दै विश्वासको मत मागे। उनले आजको विरोधका लागि ‘भविष्यमा चर्को मूल्य चुकाउनुपर्नेछ’ भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी समेत दिए।
नेपालको संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षको विरोधबीच प्रधानमन्त्रीले विश्वासको मत लिएको यो पहिलो अवसर हुनपुगेको छ। प्रतिपक्षले मतदानमा सहभागी नभएर विरोध गरेको पनि यो पहिलो घटना बनेको छ।
अर्को उल्लेख्य पक्ष के हो भने विश्वासको मत पाईसकेपछि प्रधानमन्त्रीले मतदाता सांसद र समर्थक दललाई धन्यवाद ज्ञापन गर्ने परम्परा रहिआएको छ। त्यसैगरी दलीय प्रतिनिधित्वका आधारमा रोष्ट्रममा उभिएर नेताहरुले प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिने चलन छ। तर आज यी कुनै पनि औपचारिकता पूरा हुन पाएनन्, आफूलाई विश्वासको मत दिने दलहरुको समेत बधाई नपाई प्रधानमन्त्री सदनबाट बाहिरिनुपर्यो।
उनलाई सत्ता साझेदार नेकपा एमालेका अध्यक्षले पनि भेटेरै बधाई दिइसकेका छन्। मतपरिणाम घोषणा गरेपछि कार्यसूचिका सबै बिषय हटाएर सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेको सूचना सुनाएपछि भर्खरै विश्वासको मत पाएका प्रधानमन्त्री दाहाल व्यक्तिगत शुभकामना लिँदै बाहिरिएका थिए।