ओभरटेक’ गर्न खोज्दा माइक्रोबस टिपरसँग ठोक्कियो, १३ जना घाइते, दुईको अवस्था गम्भीर
जेठ ८, मुग्लिन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन्।
घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ।