पुजार सार्की’का प्रदीप : रियलमा तबला, रिलमा दमाहा


जेठ ८, काठमाडौं । अभिनेता प्रदीप खड्काले नेपाली फिल्ममा अभिनयको सुरुवात प्रेमकथाका फिल्मबाट गरे। फिल्म ‘प्रेमगीत’बाट ‘लभर ब्वाई’ र ‘रोमान्टिक हिरो’को छवि बनाएका प्रदीप फिल्म ‘प्रकाश’ अघिसम्म त्यही छविमा स्थापित भए। तर ‘प्रकाश’ले उनलाई फरक अभिनेताका रुपमा दर्शक र फिल्मकर्मीमाझ चिनायो। यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’मा उनी ‘प्रकाश’ भन्दा अझ फरक चरित्रमा देखिँदैछन्।

‘पुजार सार्की’ मा प्रदीपले ‘मैतबहादुर सार्की’को चरित्र निर्वाह गरेका छन्, जो गाउँको विवाह होस् या धार्मिक कार्यमा दमाहा बजाउँछ। प्रदीपको क्यारेक्टर तस्वीर र पोस्टर सार्वजनिक भएपछि उनको दमाहा लुक्सले राम्रै चर्चा पाएको थियो । प्रदीपका लागि ‘दमाहा’ बजाउनु आफैंमा नयाँ थियो। फिल्मको टिजरमा प्रदीपलाई खुलेर दमाहा बजाएको देख्न सकिन्छ।

‘दमाहा मैले पहिलोपटक सुटिङ स्पटमै बजाएको हुँ। मैले जन्मिएपछि देखेको बेण्ड बाजा हो पछिल्ला दशकमा मात्र सहरतिर विवाहमा पञ्चेबाजा चलनमा आयो। मलाई दमाहा कसरी बजाउने थिएन’, प्रदीप भन्छन्, ‘म पहिला तबला बजाउँथे। मलाई बिटहरुको आइडिया छ। म अहिले पनि गीतार बजाउँछु। त्यसकारण मलाई रिदमको जानकारी थियो। दमाहा बजाउँदा त्यो टिप्न सजिलो भयो। बिटमा बजाउन मलाई समस्या भएन। मैले केवल टाइमिङमात्र सिक्नु थियो। मैले दमाहा बजाएको देख्दा पञ्चे बाजा समूहका दाईहरु पनि छक्क परेका थिए।’

फिल्म ‘पुजार सार्की’ले मुख्यतया जातीय विभेदविरुद्धको कथा बोल्छ। प्रदीपलाई आफैं दलित पात्र बनेर अभिनय गरिरहँदा कुनै डर भएको रहेनछ। ‘सही काम गरिएको छ भने त्यसको आउटपुट गलत हुन्छ भन्नेमा डर छैन कसैले आजको दिनमा विभेद छैन, यो कुरा किन अगाडि ल्याइरहेको हो भनेर कसैले भन्यो भने यो कला र साहित्य हो । नेपालको परिप्रेक्ष्यमा पचासौं वर्षदेखि एउटा वर्ग आन्दोलनरत छ। उनीहरुले आज पनि विभेदका घटना व्यहोरिरहेका छन् । घटना निर्मूल नै भइसकेको त होइन नि,’ प्रदीपको भनाई छ।

प्रदीपले नेपालमा जातीय विभेद हुने गरेको कुरा कलेजमा पढ्दा मात्र थाहा पाएका रहेछन् । ‘म ललितपुरको एकान्तकुनामा जन्मिएँ। मलाई जातीयताका आधारमा विभेद हुन्छ भन्ने धेरै पछि मात्र थाहा भयो। १२ कक्षा पढुञ्जेल मेरा साथीहरु कुन जातको र कुन समुदायको भन्ने थाहा थिएन। सबैजना आफैं जस्तो देख्थें । तर जब परिवार बाहिर आएर मिडिया बुझ्न थालें, अनि मात्र विभेद पनि हुँदो रहेछ भन्ने थाहा पाएँ’, उनले खुलाए।

प्रदीप फिल्म ‘पुजार सार्की’ले निको भएको घाउलाई नकोट्याउने दाबी गर्छन् । ‘यो फिल्म बन्नु आफैंमा समस्या होइन। फिल्मले विभेदको समस्या कति समाधान भयो भन्ने कुराको प्रश्न गर्छ। सामन्ती भनिएका वर्गले ‘ए हामीले गल्ती गरेका रहेछौं’ भनेर बुझेको भए समस्याको समाधान छिटो हुन्थ्यो कि। फिल्म हेरिसकेपछि हामी त गलत कोणबाट पो झगडा गरिरहेका छौं भन्ने झस्काउनेछ’, उनी भन्छन्।

प्रदीप ‘लार्जर देन लाइफ’ भनेर स्वाट्ट बाइकबाट चस्मा लगाएर ओर्लिने भन्दा पनि ‘ए १ यो त हाम्रो गाउँको मान्छे’, ‘ए १ यो त नेपाली हो’ र यो चाहिँ रिलेट गर्न सक्ने किसिमको हो भन्ने खालको चरित्र मनपराउँदा रहेछन्।

दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’मा प्रदीपसँगै पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, सुभाष गजुरेललगायतका कलाकारको अभिनय छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?