काठमाडौँ उपत्यकामा बिहानैदेखि वर्षा, आज यी पाँच प्रदेशमा पानी पर्ने


जेठ १२, काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा वर्षा भैरहेको छ। बिहानैबाट उपत्यकाका विभिन्न ठाउँमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।

हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको विभागले उल्लेख गरेको छ।

विभागका अनुसार शनिबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। आज लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन–चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागले राति गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?