प्रतिनिधि सभा : प्रधानमन्त्री र अर्थमन्त्रीको प्रस्तुति विपक्षीको नाराबाजीमै
जेठ १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका छन्। विपक्षीहरुको नाराबाजी र धकेलाधकेलकाबीच पनि प्रधानमन्त्रीले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।
उनले भने, ‘राष्ट्रपतिले २०८१ जेष्ठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष ८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्दछु।’
यस्तै, बैठकमा अर्थमन्त्री वर्षमान पुनले पनि आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन्। उनी आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेर रोकेका थिए।
उनले चालू आर्थिक वर्षमा कूल लगानी २।८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए। उत्पादनमूलक उद्योगको गतिविधिमा ढिलाइ भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने बताए।