स्थानीय यार्सा खोज्न गएको मौका छोपी मुगु कार्मारोङका २३ घरमा चोरी
जेठ १४, मुगु । मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ। गाउँका अधिकांश मानिसहरु यार्सागुम्बा संकलन गर्न पाटन गएको मौका छोपी हतियारधारी समूहले शनिबार साँझ लुटपाट गरेको हो।
गाउँमा बुढाबुढी र अशक्त रहेको अवसर पारेर लुटेरा समुहले डोल्फु गाउँमा रहेका ५० घरमध्ये २३ घरबाट नगद, गहना, सरसामानलगायत चोरी गरेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए।
बन्दुक, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, लत्ताकपडालगायत सामान लुट्नुका साथै गाउँमा भाएका कुकुर र गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले जानकारी दिए।
‘२३ घरमा लुटपाट गरेछन्। गाउँमा रहेका गुम्बाका पुजारी र कुकुरहरुलाई लुटेरा समुहले मणासन्न हुने गरी कुट्पिट गरेछन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने छ।’ मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराएका थिए।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिले घटना सत्य भएको र यथार्थ बुझ्न घटना स्थलबाट ५ घण्टा तल रहेको पुलु प्रहरि चौकिबाट प्रहरिको टोली पठाइएको जानकारी दिए। यस्तै, जिल्ला प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न कठिन भएको उल्लेख गर्दै आज साँझसम्म सत्यउ तथ्य बाहिर आउने बताए।
मुगुम कार्मारोङ गाउँँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा संकलनका लागि अनुमति दिएसँगै त्यहाँका स्थानीय गाउँ छाडेर यार्सागुम्बा संकलनका लागि हिमाली भेगतर्फ गएका थिए। विगत वर्षहरुमा पनि जुम्लाका पातारासी, पटमारा लगायत बस्तीहरुबाट हरियारधारी समूह आएर मुगुका स्थानीयसँग झगडा गर्ने तथा यार्सा लुटेर लाने गरेको घटना भएका थिए।