समाचार टिप्पणी : रास्वपाको ‘क्रिकेट टिम’ को सन्देश
जेठ २३, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन खेलाडिको जर्सी लाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु प्रतिनिधि सभामा पुगेका थिए । उनीहरुको यो प्रयोग संसदीय इतिहासमै पहिलो थियो र नौलो थियो।
जननिर्वाचित प्रतिनिधिहरुको यस्तो नवीन सोचमा आधारित प्रयोगले समाजका विभिन्न विधाहरुको प्रगतिमा सहयोग नै हुनेछ। राजनीति नै हो सबैको अगुवाई गर्ने विधा र नीतिनिर्माता। लोकप्रिय हुँदै गएको क्रिकेटमा प्रगति गरिरहेको नेपाल र यहाँका खेलाडिलाई प्रात्साहित गर्दा पक्कै पनि उनीहरुको आत्मविश्वास बढ्नेछ। विश्वले नै नियालीरहेको प्रतिष्पर्धामा नेपालको प्रदर्शनले छाप छोड्न सक्दछ । यो एउटा प्रतिष्पर्धाको प्रसंग हो।
अर्को सम्भावनाको पक्ष के हो भने रास्वपाका सांसदको नौलो शैलीको ऐक्यवध्दताले देशको चौथो ठूलो राजनीतिक संगठनको उदीयमान खेलप्रतिको प्रतिवध्दता पनि प्रकट भएको छ। यो निकै सकारात्मक पक्ष हो। यसपछि दलहरुले मिलेर खेल क्षेत्रमा विद्यमान विकृति विसंगति र समस्याहरुको समाधान गर्ने बारेमा राष्ट्रिय सहमतिको वातावरण बनाएर समय सुहाउँदो खेल नीति निर्माण गर्नुपर्छ।
खेलकूदको क्षेत्रमा आफू पनि हस्तक्षेप नगर्ने र अरु दललाई पनि त्यसका लागि वचनवध्द गर्ने गरी नीति निर्माणमा सहकार्य गर्नुपर्छ। अझ महत्वपूर्ण कुरा के हो भने खेलकूद क्षेत्रलाई देशको उच्च प्राथमिकताको सूचिमा राखेर नीति निर्माण र बजेट विनियोजन गर्नुपर्छ।
संसदको अधिवेशन चलिरहेका बेला रास्वपाले नौलो सन्देश दिएर यस्ता अत्यावश्यक कार्यहरु गर्ने संकेत पनि दिएको हुनुपर्छ। यही नै उसको उदेश्य हो भने यो देशका लागि र सिंगो खेलकूद क्षेत्रका लागि खुशीको बिषय हो।
प्रतिनिधि सभाको बैठकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर सहभागी हुनुले सात समुन्द्रपारी प्रतिपष्र्धा गरिरहेका हाम्रा खेलाडिलाई अवश्य पनि हौसला मिल्ने नै छ।
रास्वपाले सुरु गरेको यो सकारात्मक प्रयाशमा पक्ष प्रतिपक्ष नभनी सबै दलहरुले समर्थन र ऐक्यवध्दता प्रदर्शन गर्दा कैयौं निराशाजनक घटनाले खिन्न भएको नेपाली समाजमा पनि सकारात्मक सन्देश प्रवाह गर्नेछ। अनेकौं असहमतिका बीच पनि यस्ता अवसरमा राष्ट्रिय चिन्तन र व्यवहार प्रदर्शन गर्दा कसैलाई पनि नोक्सान हुँदैन, कसैको कद होचो पनि हुँदैन। देशकै हितमा सुखद सन्देश प्रवाह हुनेछ।
हुनसक्छ, रास्वपाले आफ्नो नेतृत्व चर्को विवादमा परिरहेका बेला नयाँ प्रयोग गरेर जनतामाझ छवि सुधार्न प्रयाश गरेको होला। यो उसको रणनीतिक चाल पनि हुनसक्ला। त्यस्तै हो भने पनि हुनदिनुपर्छ । तर प्रकटमा उसले जुन शैलीको प्रदर्शन गरेको छ, त्यो भने अनुकरणीय नै छ, मान्नुपर्छ।
पछिल्लो निर्वाचनदेखि नै सत्ता गठबन्धन बनाउने, बदल्ने र फेरि त्यसकै लागि सम्पूर्ण राजनीतिक शक्ति खर्च गर्ने प्रवृत्तिको बिकास भैरहेको छ। संसदले सहज यात्रा गर्न नपाईरहेको र जनताका जल्दाबल्दा स्वार्थहरुको सम्वोधन हुननपाएर असन्तुष्टि चुलिँदै गैरहेको अवस्था छ । सत्ता केन्द्रित चलखेल र आर्थिक अपचलनका कैयौं बिषयमा शीर्ष तहका नेता र सरकारका पदाधिकारीहरु नै मुछिएका घटनाले राजनीतिको छवि नै धुमिल भैरहेको छ। दलहरुबीचको निम्नकोटीको आरोप प्रत्यारोप र मर्यादाहीन आलोचनाले पध्दतिमाथि नै प्रश्न उठाउने आधार दिईरहेको छ । तसर्थ, यस्तो परिस्थितिमा ससाना कुराहरुमा सकारात्मक सन्देश प्रवाह गर्न प्रमुख दलहरुले चित्त फराकिलो पार्नुपर्छ। अनिमात्र ठूलाठूला मुद्दा पनि राष्ट्रिय सहमति जुटाउन मद्दत पुग्ने छ।
सांसदहरू टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा जर्सी लगाएर बैठकमा सहभागी भएको दृश्यले सबैका मनमा एककिसिमको नयाँ तरंग फैलाएको पाईएको छ।
मंगलबार १० वर्षपछि टी–२० विश्वकप खेलेको नेपाल पहिलो खेलमा नेदरल्यण्डससँग ६ विकेटले पराजित भएको छ।