कर्णाली पुलमा फसेका १४ खच्चडमध्ये दुई मरे


जेठ २७, काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने गरि बनाइको कर्णालीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर आइतबार बिहान १४ वटा खच्चड फसेका थिए। ६० को दशकमा निर्माण गरिएको झोलुंगे पुलको पुनःनिर्माणमा उदासिन हुँदा पुलका लठ्ठा चुँडिएर सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए। तर मानवीय क्षती भने हुन पाएन। उक्त पुल सुदूरपश्चिम प्रदेशलाई मुलुकका अन्य भूभागसँग जोडने माध्यम पनि हो।

झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जसमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको हो। अर्को भने जाली काटेर नदीमा झारेपछि मरेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पुलमा फसेका १४ मध्ये ८ वटा खच्चडलाई निकालिएको छ। बाँकी रहेकालाई तानेर निकाल्ने प्रयास भइरहेको छ। खच्चड नदीमा खसाल्दा ढुंगामा पर्ने भएकाले तानेर निकाल्न लागिएको हो।

अहिले पुलबाट केहीलाई नदीमा खसालेर उद्धार गरिएको छ भने केहीलाई लठ्ठाबाट डोरीले तानेर निकालिएको प्रहरीले जानकारी दिएको छ। लठ्ठा चुँडिएर पुल लच्किँदा अछाम र दैलेखबीच आवतजावत बन्द भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?