काठमाडौं उपत्यकासहित यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
जेठ २८, काठमाडौं । आज काठमाडौं उपत्यकासहित कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। जसकारण अहिले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली भई कोशीका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लुम्विनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
बेलुका कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।