तेजस्वी र करणको ब्रेकअप


असार २, मुम्बई । रियालिटी शो ‘बिग बोस १५’बाट नजिकिएका अभिनेत्री तेजस्वी प्रकाश र अभिनेता करण कुन्द्रा टेलिभिजन उद्योगमा रुचाइएका जोडीमा पर्छन्।

समय समयमा उनीहरुको ब्रेकअप भएको खबर आइरहन्छ। त्यसलाई उनका फ्यानहरुले खासै गम्भीर रुपमा लिँदैनन्। तर यसपटक भने उनीहरुको ब्रेकअपको खबरले निकै चर्चा पाएको छ।

हालैमात्र करणको ट्वीटरमा एक भिडियो पोस्ट भएको छ। जहाँ तेजस्वी र करणको ब्रेकअप हुने कारण बताइएको छ। ‘प्रोडक्सन हाउसको निकट एक कर्मचारीका अनुसार तेजस्वी र करणबीच निकै तनाव छ। उनीहरुबीच ब्रेकअप हुने धेरै कारण छन् । करण र तेजस्वीको व्यक्तित्वमा धेरै समस्या छ।

उनीहरु एकअर्काप्रति असुरक्षित महशुस गरिरहेका छन्। करण महिला साथीहरुसँग नजिकिएको तेजस्वी मन पराउदिनन्। दुवैको फ्यान फलोइङ धेरै छन्। त्यसकारण उनीहरु आफूहरुको ब्रेकअपको बारेमा केही बताउन चाहिरहेका छैनन्। उनीहरु आफूहरु ट्रोलिङमा नपर्न र कैयौं व्यावसायिक सम्झौता नटुटोस् भनेर ब्रेकअपको खबर लुकाइरहेका छन्’, भिडियोको क्याप्सनमा लेखिएको छ।

करण र तेजस्वीको ब्रेकअपको खबर सार्वजनिक भएपछि फ्यानहरुले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन्। ‘यो चिनियाँ माल जस्तै हो, चल्नै सक्दैन’, एक प्रयोगकर्ताले लेखेका छन्। अर्काले तेजस्वीले करण भन्दा अझ राम्रो प्रेमी पाउने लेखेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?