नेपाल बंगलादेशसँग २१ रनले पराजित


असार ३, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। समूह डीमा रहेको नेपाल समूह चरणको बंगलादेशसँग २१ रनले पराजित भएको हो। पहिला ब्याटिङ गरेको बंगलादेश १९.३ ओभरमा १०६ रनमा समेटिएको थियो।

बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी हुँदा ८५ रनमा समेटिन पुग्यो। लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २५ रनको पारि खेले। यी दुई खेलाडीले अर्धशतकीय साझेदारी गर्दै नेपालको जितको आशा कायमै राखेका थिए। कुशलले ४० बल खेल्दा एक छक्का र एक चौका प्रहार गर्दा दीपेन्द्रले ३१ बल फेस गर्दा एक छक्का र दुई चौका प्रहार गरे।

पहिलो विकेटको रुपमा कुशल भुर्तेल ४ रन बनाएरु आउट भएका थिए। दोस्रो विकेटको रुपमा अनिल साह खाता नै नखोली पभेलियन फर्किए। रोहित पौडेल र सन्दीप जोराले एक एक रन बनाउँदा गुल्सन झा, सोमपाल कामी र अविनाश बोहोराले खाता नै खोल्न सकेनन् भने सन्दीपले एक बल पनि फेस गर्न पाएनन्।

बंगलादेशका तनजिम हसन साकिवले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राखेर ७ रन दिँदै नेपालका ४ खेलाडीलाई पभेलियनको बाटो देखाए। यसैगरी मुस्तफिजुर रहेमानले ४ ओभरमा १ ओभर मेडन राख्दै ३ विकेट लिए। तसकिन अहमदले १ विकेट लिँदा साकिब अल हसनले अन्तिम २ विकेट हात पारे।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बंगलादेशलाई ब्याटिङका लागि निम्ता दिएका थिए। कप्तान पौडेलको निर्णयलाई नेपाली बलरले भने सही सावित गरे। पहिलो खेबलमा सोमपाल कामीले तनजिद हसनलाई पभेलियन पठाउँदै नेपाललाई उत्कृष्ट सुरुआत गराए।

७ रन हुँदा नेपालले दोस्रो सफलता हात पारेको थियो। दोस्रो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाएका थिए । बंगलादेशका कप्तान नजमुल होसेन सान्टो ४ रन बनाएर पभेलियन फर्किए। टिमको स्कोर २१ रन हुँदा तेस्रो विकेट गुमेको थियो। तेस्रो सफलता नेपालका सोमपालले दिलाए। उनले लिटन दासलाई १० रन बनाएका बेला विकेटकिपर आशिफ शेखमार्फत आउट गरेका हुन्।

३० रन पुग्दा बंगलादेशले चौथो विकेट गुमाउन पुग्यो। उसका तोहिद हेरिडो ९ रनको पारि खेल्दा नेपाली कप्तान रोहित पौडेलले आउट गरे। ५२ रन हुँदा नेपालले पाँचौं सफलता रनआउट मार्फत गरेको थियो। मोहमदुल्लाहलाई नेपालका गुल्सन झा र सन्दीप लामिछानेले रनआउट गरेका थिए। उनी १३ रन बनाएर आउट भए।

एक छेउँमा टिकेका अलराउन्डर साकिव अल हसनलाई कप्तन रोहित पौडेलले एलबीडव्ल्यूको धरापमा पारे। साकिवले १७ रन बनाउँदा २ चौका प्रहार गरे। साकिव नै बंगलादेशका लागि आज सर्वाधिक रन बनाउने खेलाडी बने।

६९ रन हुँदा नेपालले सातौं सफलता हात पारेको थियो। सातौं विकेटको रुपमा तन्जिम हसन ३ रनमै पभेलियन फर्किए। उनलाई सन्दीप लामिछानले बोल्ड आउट गरेका थिए। यो सन्दीपको टी–२० करियरको ९९ औं विकेट थियो। १५.३ ओभरमा ७५ रन हुँदा बंगलादेशले आठौं विकेट गुमाउन पुग्यो। नेपाललाई आठौं सफलता सन्दीपले दिलाउँदै टी–२० करियरको १०० औं विकेट पूरा गरे। सन्दीपले ५४ खेलमा १०० विकेट पूरा गर्दा जाकर अलिलाई आउट गरे। जाकरले १२ रन बनाएका थिए।

८८ रन हुँदा रिसाद हुुसेन ७ बलमा १३ रन बनाएर आउट भए। उनले मात्रै नेपाली बलरविरुद्ध एक छक्का प्रहार गरे। अन्तिम विकेटको रुपमा मुस्तफिजुर रहमान १९.३ ओभरमा ३ रन बनाएर रन आउट भए। उनलाई रोहित र दीपेन्द्रले रन आउट गरेपछि बंगलादेशको पारि १०६ रनमा समेटियो।

नेपालका सोमपाल कामीले ३ ओभरमा १० रन खर्चिएर २ विकेट लिए। यसैगरी दीपेन्द्रसिंह ऐरीले ३.३ ओभरमा २ विकेट लिँदा रोहित पौडेलले ४ ओभरमा २० रन दिएरु २ विकेट हात पारे। सन्दीपले ४ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १७ रन खर्चिदै २ विकेट हात पारे। दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिएका कुशल भुर्तेले आजको स्पेलमा २२ रन खर्चिए पनि विकेटविहीन बने। अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?