यौन दुव्र्यवहारका अभियुक्त प्रधानलाई निर्वाचन आयोगमा नियुक्ति सिफारिस
असार ३, काठमाडौं । संवैधानिक परिषद्ले यौन दुव्र्यवहारका अभियुक्त कृष्णमान प्रधानलाई निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिस गरेको खुलेको छ । आइतबार बसेको संवैधानिक परिषद्को बैठकले काठमाडौं महानगरपालिका–११ बबरमहलका प्रधानलाई निर्वाचन आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
संविधानको धारा २४५ को उपधारा ६ बमोजिम निर्वाचन आयोगको आयुक्त हुन आवश्यक पर्ने योग्यतामा ‘उच्च नैतिक चरित्र भएको’ व्यक्ति हुनुपर्ने उल्लेख छ। तर संवैधानिक परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा नैतिक पतन हुने गरी फौजदारी अभियोगमा अदालतमा मुद्दा दर्ता भएर अदालती प्रक्रियाबाट मिलापत्रको फैसला गराएका प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
प्रधानविरुद्ध काभ्रे धुलिखेलकी एक महिलाले २०८० भदौ २४ गते जिल्ला अदालत काठमाडौंमा यौन दुव्र्यवहार गरेको (दफा २२४) सम्बन्धी मुद्दा दर्ता गराएकी थिइन् । सो मुद्दामा न्यायाधीश केशवप्रसाद अधिकारीले २०८० भदौ २९ मा मिलापत्र गराएका थिए । सर्वोच्च अदालतले आफ्नो अभिलेखमा सो मुद्दाको फैसलामा ‘मिलापत्र’ गरिएको भन्ने उल्लेख गरेको छ ।
संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुअघि व्यक्तिको वैयक्तिक विवरणलाई राम्रोसँग अध्ययन समेत नगरी संवैधानिक पद र गरिमाको अवमूल्यन हुने गरी यौन दुव्र्यवहारको मुद्दा लागेका व्यक्तिलाई सिफारिस गरेको भन्दै आलोचना भएको छ ।
संवैधानिक परिषद्को सिफारिसपछि अब प्रधानको नियुक्तिका विषयमा संसदीय सुनुवाई हुने व्यवस्था छ । संविधानको धारा २९२ ले संवैधानिक परिषद्को सिफारिसमा नियुक्ति हुने पदहरुमा नियुक्त हुनुअघि संघीय कानून बमोजिम संसदीय सुनुवाई हुनुपर्ने व्यवस्था गरेको छ ।
संघीय संसद्का सदस्यहरु सम्मिलित संसदीय सुनुवाई समितिमा छलफल हुँदा दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने व्यवस्था छ । यौन दुव्र्यवहारको मुद्दा चलेका प्रधानलाई अब संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले निर्वाचन आयोगको सदस्यमा नियुक्त गर्नेछन् ।
विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक नियुक्तिको विवाद अहिलेसम्म टुंगिएको छैन । त्यसबेला संसदीय सुनुवाईको प्रक्रिया पूरा नगरी अध्यादेश ल्याएर नियुक्ति गरिएकोमा सो सम्बन्धी मुद्दा अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।
विगतको नियुक्तिसम्बन्धी विवाद कायमै रहेका बेला प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन, विपक्षी दल नेपाली कांग्रेस र अन्य संवैधानिक निकायका प्रमुखहरूलाई समेत साक्षी बनाएर यौन दुव्र्यवहार मुद्दाका अभियुक्तलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्ति सिफारिस गराएका छन् ।
हाल काठमाडौंको बबरमहलका स्थायीबासी प्रधान नुवाकोटका हुन् । उनी २०२४ साल भदौ ११ मा नुवाकोटको चन्दनीमा जन्मेका हुन् । उनी नेपाल कानून समाजमा २०४८ सालदेखि निरन्तर कार्यकारी निर्देशक छन् । उनी ग्रामीण विकास प्रतिष्ठानको अध्यक्षमा समेत २०५० सालदेखि निरन्तर छन् ।