विश्वकपको सुपर आठमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित
असार ६, काठमाडौँ । आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ। दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एक सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७६ रनमा समेटियो। अमेरिकाका एन्ड्रिस गौसले सर्वाधिक ८० रन बनाए। उनले ४७ बलमा ५ चौका र ५ छक्कासहित ८० रनका योगदान दिए।
त्यस्तै हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए। स्टिभन टेलरले २४, नितेश कुमारले ८ तथा कोरी एन्डरसनले १२ रन जोडे। दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले समान एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो। क्विन्टन डि ककले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ४० बलमा ७ चौका र ५ छक्कासहित ७४ रन बनाएका हुन्।
कप्तान एडेन माक्ररमले ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रन जोडेभने हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा बनाए। ट्रिस्टन स्टब्सले १६ बलमा २ चौकासहित २० रन बनाए। अमेरिकाका हरमीत सिंह र सौरभ नेत्रवालकरले समान दुई दुई विकेट लिए।