देशमा केही पनि भएन भन्ने भाष्य गलत : प्रधानमन्त्री दाहाल
असार १४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन्।
शुक्रबा।र जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन उद्दत रहेको उल्लेख गरे। उनले कम्युनिष्टहरुले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक रहेको बताए।
उनले भने, ‘अहिले जनतामा देखिएको नकारात्मक भावना चिर्न सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ। कुनैपनि कालखण्डको कुरा गर्दा देशमा केही भएन भन्ने भाष्य गलत हो। धेरै भएको छ तर, जनताको आशा अपेक्षा अनुसार अझै भएको छैन। त्यो पनि सत्य हो। तर नकारात्मक कुरा गरेर रमाउने मात्र प्रवृत्ति कँही न कँही यस भाष्यलाई अगाडि बढाउन उद्दत छ। कम्युनिष्टहरुले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक छ।’
कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको प्रधानमन्त्री दाहालको भनाइ छ। उनले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको दाबी गरे।