एसइई पूरक परीक्षा २३ साउनदेखि, नतिजा असोजको पहिलो हप्ता
असार १७, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पूरक परीक्षा सुरु गर्ने निर्णय गरेको हो।
यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले १८, १९ साउनमा परीक्षा गर्ने सूचना जारी गरेको थियो। तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो।
अहिले पास भएका र पूरक परीक्षा दिने विद्यार्थीको पढाइमा ‘ग्याप’ कम गर्नका लागि असोजको पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ। बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन्।