के गर्दैछन् देउवा दिल्लीमा ?
भारत भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराजलगायत वरिष्ठ नेता र अन्य मन्त्रीसँग भेटवार्ता गर्ने हुनुभएको छ । प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले भ्रमणका त्यस्तो विशेष ‘एजेन्डा’ नरहे पनि भारतीय नेतासँग द्विपक्षीय हितका विषयमा छलफल गरिने जानकारी गराउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता देउवाले मुलुक संविधान निर्माणको महत्वपूर्ण चरणमा रहेको र दलहरुबीच अधिकतम् सहमतिका आधारमा संविधान जारी गर्ने प्रयास भइरहेको बताउनुभयो । नेता देउवाले भ्रमणका क्रममा आफूले नेपालमा लगानीको उचित वातावरण बन्दै गएको अवस्थामा लगानीका लागि भारतलाई आग्रह गर्ने बताउनु भयो । उत्तराखण्डको भ्रमण गरी पञ्चेश्वरका विषयमा पनि छलफल गर्ने उहाँले उल्लेख गर्नु भयो ।