अब शीर्ष नेताले नै संविधानको मस्यौदामा सुझाव समेट्ने
नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि जनताले दिएको सुझावलाई व्यवस्थित रुपमा सूत्रबद्ध गर्न प्रमुख चार राजनीतिक दलका नेता सहभागी रहनुभएको विशेष समिति गठन गरिएको छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकले प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार रहनुभएको समिति गठन गरेको हो । समितिले जनमत सङ्कलनका क्रममा जनताले दिएको सुझावका आधारमा प्रारम्भिक मस्यौदालाई थप परिष्कृत र परिमार्जित गर्ने छ । संवाद समितिका सभापति डा बाबुराम भट्टराईले सबै पक्षको सुझाव र जनचाहनालाई सम्बोधन गर्ने गरी मस्यौदालाई थप परिमार्जन र परिष्कृत गर्न समिति गठन गरिएको जानकारी दिनुभयो । जनमत सङ्कलनका क्रममा जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने, धार्मिक स्वतन्त्रता कायम गर्नुपर्ने, निर्वाचित हुने नेतृत्वको शैक्षिक योग्यता तोकिनुपर्ने, राज्यका हरेक निकायमा महिलाको सहभागिता ५० प्रतिशत हुनुपर्ने, हिमाल, पहाड र तराई मिलाएर सङ्घीय राज्य बनाउनुपर्ने र त्यस्ता राज्यको सङ्ख्या सकेसम्म कम हुनुपर्ने सुझाव दिएका थिए । समितिलाई संविधानसभाभित्र र बाहिर रहेका दललाई समेत विश्वासमा लिएर मस्यौदालाई परिमार्जन गर्ने अख्तियारी प्रदान गरिएको सभापति डा भट्टराईको भनाइ छ । संविधानको प्रारम्भिक मस्यौदाको संविधानसभाभित्र रहेका सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टीलगायतका दलले विरोध गर्दै आएका छन् । संविधानसभा बाहिर रहेको नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चा र अन्य केही साना दलले समेत विरोध गरिरहेको सन्दर्भमा सबै पक्षको विश्वास जित्ने चुनौती यो समितिसामु आएको छ । विशेष समितिको काम कारबाहीलाई आवश्यक संयोजन गर्ने काम समितिका सभापतिको हैसियतले डा भट्टराईले गर्नुहुनेछ । संविधानसभाले जनताबाट आएका सुझावलाई चार दिनभित्र सहमति जुटाएर पेस गर्न निर्देशन दिएको छ । समितिले मस्यौदालाई परिमार्जन गर्न विज्ञहरूको समेत आवश्यक राय र सुझाव लिन सक्नेछ । समितिले संविधानसभाभित्र र बाहिर रहेका सबै दलसँग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रियासमेत गर्न सक्नेछ ।