एनआरएन अष्ट्रेलियाको छैठौं राष्ट्रिय अधिवेशन सम्पन्न, नयाँ अध्यक्षसहितको टिमको सपथ


Teamनवनिर्वाचित कार्यसमितिको सपथ गराउँदै एनआरएन अष्ट्रेलियाको छैठौं राष्ट्रिय अधिवेशन सिड्नीमा सम्पन्न भएको छ । विभिन्न राज्यबाट आएका करिब चार सय सहभागीहरुकाबीच निर्वाचन कमिटीका प्रमुख आयुक्त जोग लिम्बुले गर्नुभएको आग्रह अनुसार एनअआरएन आईसीसी अध्यक्ष शेष घलेले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ गराउनुभएको थियो । एनआरएन अष्ट्रेलियाका विभिन्न राज्य समितिहरुका साथै राष्ट्रिय समन्वय परिषद्को नेतृत्वको समेत सपथ गराइएको छ । सपथग्रहणअघि एनआरएन अष्ट्रेलियाको २०१३, १५ का अध्यक्ष महेन्द्र ओली र उहाँको टिमले बिदा लिएको थियो । सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विभिन्न परियोजनाहरुको सम्बन्धमा उपस्थित सबैलाई जानकारी गराइएको थियो । पूर्वअध्यक्ष ओलीले एनआरएनले गर्दै गरेका कामको विषयमा एक भिडियो रिपोर्ट प्रस्तुत गर्दै एनआरएन आज जुन ठाउँमा आइपुगेको छ, त्यसमा सबै पूर्वअध्यक्षहरुको योगदान रहेको र यसमा आबद्ध सदस्यहरुले आफ्नो परिवारको समय कटाएर समाजका लागि योगदान दिएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै हरएक सदस्यहरुको साथ, सहयोग र समर्थनबाट मात्रै एनआरएन अष्ट्रेलियाले यतिधेरै उपलब्धी हाँसिल गर्न सकेको बताउनुभयो । उहाँका अनुसार एनआरएन अष्ट्रेलियाले ११ लाख ३५ हजारभन्दा बढी भूकम्प पीडितको सहयोगका लागि एनआरएन आईसीसीमा सहयोग रकम पठाएको, एनआरएन केन्द्रीय कार्यालय बनाउनका लागि २ लाख ७९ हजार डलर संकलन गरेको र नेपालमा विभिन्न परोपकारी कामका लागि १ लाख ४१ हजार ३ सय ६६ डलर आफ्नो कार्यकालमा योगदान गरेको विवरण पेश गर्नुभयो ।

बन्द सत्रमा यस्तो भयो

0U2A9670यसअघि एनआरएन अष्ट्रेलियाको राष्ट्रिय अधिवेशनका क्रममा आयोजित बन्द सत्रमा कोषाध्यक्ष चुरामणि बेल्बासेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । प्रतिवेदन पेश गर्दै बेल्बासेले एनआरएन आईसीसीको प्रशासनिक कामका लागि मात्रै ७६ हजार ९ सय ५३ डलर पठाइएको जानकारी दिनुभयो । क्यासलेस, प्रिअप्रुभ्ड र काम भएपछि मात्रै भुक्तानीको प्रक्रियाबाट पारदर्शी रुपमा आर्थिक गतिविधि सञ्चालन भएको जानकारी दिनुभयो । उहाँले एनआरएन अष्ट्रेलियाले सोसिएल वेल्फेयर फण्डमार्फत अष्ट्रेलियामा रहेका र आवश्यकता भएका १५ जनालाई सहयोग गरेको र फण्डमा करिब ६० हजार डलर थप गरिएको पनि उहाँले जानकारी दिनुभयो । विभिन्न राज्य समितिका संयोजकहरुले गत २ वर्षको अवधिमा गरेका कामहरुको विवरण पेश गर्नुभएको थियो भने विभिन्न परियोजना सञ्चालन गर्दाका अनुभव पनि त्यहाँ राखिएको थियो । एनआरएन अष्ट्रेलियाको महिला मञ्च नारी निकुञ्जले पनि विभिन्न परोपकारी गतिविधिको विषयमा जानकारी गराएको थियो । विधान संशोधनको मुद्दामा भने सहभागीहरुले हुटिंग गरेका थिए । यसपछि तीन महिनाभित्र आएका विषयलाई समेट्ने गरी समिति बनाउने बताइएको थियो । यस्तै बन्द सत्रमा सहभागीहरुले विभिन्न राज्यहरुलाई समेट्न समेत कार्यक्रम चाहिएको बताएका छन् । उनीहरुले, राज्य समितिहरुलाई बैंक खाता खोल्नेसम्म छुट नभएको भन्दै आक्रोश पोखेको बन्द सत्रमा सहभागीमध्येका एकले एमएनटीभीलाई जानकारी गराए ।

सिग्देलको प्रतिबद्धता

sigdelशपथग्रहणपछि बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले आपूm समाजका लागि केही दिने उद्देश्यका साथ नेतृत्वमा आएको बताउनुभयो । यसका निम्ति सबैको साथ, सहयोग र समर्थन चाहिएको भन्दै अध्यक्ष सिग्देलले चुनावी परिणामलाई प्राविधिक विषयमा मात्र भन्दै एकजुट भई समाजमा योगदान दिन आह्वान गर्नुभयो । चुनावका क्रममा व्यक्त भएका घोषणापत्रका बुँदाहरुलाई पालना गर्ने भन्दै अध्यक्ष सिग्देलले हरेक तीन महिनामा भएका गतिविधिलाई सार्वजनिक गर्ने र एनआरएनतर्फ थप नेपाली समूदायलाई आकर्षित गर्ने योजना सुनाउनुभएको थियो ।

यस्तो थियो उद्घाटनसत्र

0U2A9603यसअघि आयोजना गरिएको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा लेबर पार्टीकी नेतृ एवं मल्टिकल्चर एण्ड सिटिजनशिप स्याडो मिनिष्टर मिचेल रोल्याण्ड हुनुहुन्थ्यो भने लिबरल पार्टीका एमपी म्याक कुरे पनि सहभागी हुनुभएको थियो । विशेष अतिथिको रुपमा एनआरएन आईसीसी अध्यक्ष शेष घले सहभागी हुनुहुन्थ्यो । यस्तै अतिथिको रुपमा नेपाली काँग्रेसका नेता एवं सभाषद् डा. शेखर कोइराला, गोविन्द भट्टराई र पूर्वमन्त्री रोमीगौचन थकाली पनि सहभागी हुनुभएको थियो । कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनएसडब्लुका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन संरक्षक ईन्द्रा बन, समूदायका अगुवा नारायण प्रधान, एनआरएन सचिव रञ्जु वाग्ले, राजदूत रुद्रकुमार नेपाल लगायत एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्षहरुलाई मञ्चमा राखिएको थियो । वक्ताहरुले एनआरएनलाई सबै नेपालीको साझा मञ्च बनाउनका लागि योगदान दिन आग्रह गरेका थिए । कार्यक्रमको सभापतित्व अध्यक्ष महेन्द्र ओलीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?