बल्खुमा कृषि बजार स्थापना, कृषकको लागि खुशीको खबर
शुभश्री एग्रो प्रालीले बल्खुमा तरकारी बजार स्थापना गरेको छ । बल्खु तथा त्यस आसपास क्षेत्रमा सस्तो र गुणस्तरीय तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले करिब रु दुई करोडको लागतमा निर्माण सम्पन्न भएको बजारमा १०५ बिक्री कक्ष सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले बजारको उद्घाटन गर्दै कृषि क्षेत्रको विकासले कृषकको मात्र नभई समग्र देशको आर्थिक उन्नति तथा सामाजिक परिवर्तन सम्भव हुने बताउनुभयो । उहाँले कृषि क्षेत्रको कुल गाहस्थ्र्य उत्पादनमा ठूलो योगदान रहेको भए पनि केही वर्षअघि धान तथा चामल निर्यात गर्ने नेपालले अहिले उत्पादनको कमीले गर्दा आयात गर्नुपर्ने स्थिति लाजमर्दो भएको विचार व्यक्त गर्नुभयो । उहाँले जनताको लामो समयको प्रतिक्षापछि अब देशमा चाँडो संविधान जारी हुने बताउँदै त्यसले मुलुकमा राजनीतिक स्थिरता कायम भई कृषि, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा तीव्र विकास गर्न सकिने बताउनुभयो । सभासद् राजन केसी, ध्यानगोविन्द रञ्जितले सो बजारले कृषक तथा उपभोक्ता सबैलाई फाइदा पु¥याउने विश्वास व्यक्त गर्दै त्यसको विकासका लागि आवश्यक सहयोग उपलब्ध गराउने वचनबद्धता व्यक्त गर्नुभयो । कृषि मन्त्रालयका सहसचिव डा योगेन्द्र कार्कीले अर्थतन्त्रको सम्वाहक निजी क्षेत्र भएको उल्लेख गर्दै निजी क्षेत्रबाट सञ्चालन भएका यस किसिमका बजारलाई अन्य स्थानमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । अत्याधुनिक सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको सो बजारबाट विभिन्न २३ जिल्लाका कृषक लाभान्वित हुने बताइएको छ । यसअघि सोही परिसर नजिकैमा बल्खु कृषि तथा तरकारी बजार सञ्चालनमा आएको थियो ।