एमाले नयाँ हेडक्वार्टरमा, नयाँ भवन नबन्दासम्म धुम्बाराहीमा रहने
नेकपा(एमाले)को पार्टी केन्द्रीय कार्यालय धुमवाराहीस्थित पासाङ्ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा सरेको छ । भूकम्पका कारण मदननगर बल्खुमा सञ्चालन हुँदै आएको भवन क्षतिग्रस्त बनेपछि पार्टीका नियमित काम सञ्चालनका लागि केही समयका लागि कार्यालय सारिएको हो । पार्टीले तीन वर्षका लागि प्रतिष्ठानसँग कार्यालय सञ्चालनको सम्झौता गरेको छ । सम्झौतापत्रमा पार्टीका महासचिव ईश्वर पोखरेल र प्रतिष्ठानका महासचिव बच्चुनारायण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । पार्टी कार्यालय स्थानान्तरणका क्रममा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले पार्टी कार्यालय क्षतिग्रस्त बनाएका कारण केही समयका लागि कार्यालय स्थानान्तरण गर्नुपरेको बताउनुभयो । सकेसम्म निर्धारित समयभन्दा पनि चाँडो आफ्नै भवन निर्माण गरिने उहाँले जानकारी गराउनुभयो । देश संविधान निर्माणको महत्वपूर्ण चरणमा बढिरहेको बताउँदै उहाँले निर्माणाधीन संविधान शान्ति, लोकतन्त्र, समाजिक न्याय र समानताका लागि उत्कृष्ट हुने बताउनुभयो । नयाँ संविधानसँगै राष्ट्रिय स्वाधीनता, अखण्डतालाई बलियो बनाउँदै देशलाई एकतापूर्ण समृद्ध नेपालका रुपमा विकास गरिने उहाँले बताउनुभयो । महासचिव ईश्वर पोखरेलले पार्टी कार्यालय क्षतिग्रस्त बनेपछि कार्यालयको वैकल्पिक खोजी भइरहेका अवस्थामा कार्यालय सञ्चालनका लागि पासाङ्ल्हामु पर्वतारोहण प्रतिष्ठानसँग तीन वर्षका लागि सम्झौता गरिएको जानकारी गराउँदै सहयोगका लागि प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो । पार्टीका सचिव प्रदीप ज्ञवालीले विशेष परिस्थितिमा कार्यालय स्थानान्तरण गर्नुपरेको बताउँदै भवन उपयोग गरेबापत प्रतिष्ठानलाई मासिक रु एक लाख ५० हजार बुझाउनुपर्ने जानकारी गराउनुभयो । कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टीका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतमलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।