जोडियो अरनिको राजमार्ग, दशैंलाई सामान ढुवानी सुचारु गर्ने
सिन्धुपाल्चोकको राम्चे–५ मा गत साउन १७ गते गएको पहिरोले अवरुद्ध अरनिको राजमार्गको बैकल्पिक सडकको ट्र्याक खोल्ने काम पूरा भएको छ ।
सडक डिभिजन कार्यालय दोलखा र व्यवसायीको सक्रियतामा पहिरो गएकै स्थानबाट यही भदौ १ गतेदेखि खोल्न सुरु गरिएको बैकल्पिक सडकको ट्र्याक खोल्ने काम आज बिहानबाट पूरा भएको हो । “हामीले ड्यामसाइटतर्फबाट र व्यवसायीले बाह्रविसेतर्फबाट ट्र्याक खोल्न सुरु गरेका थियौँ”–सडक डिभिजन कार्यालयका इन्जिनियर अरुण कुमार श्रीवास्तवले भन्नुभयो, “सफा गर्ने काम बाँकी भएकाले सम्भवत् बिहीवार बेलुकादेखि गाडी चल्न थाल्ने छ ।” नयाँ खोलिएको ट्र्याक छ मिटर चौडाइको हुने र साविकको भन्दा २०० मिटर लामो भई ड्यामसाइटदेखि बाह्रविसेसम्मको दूरी ३.३ किमि हुने बताइएको छ । दुवैतर्फबाट खोलिएको ट्र्याक सफा गर्ने र ग्रेडिङ घटाउने काम भइरहेको इन्जिनियर श्रीवास्तवको भनाई छ । साविकको भन्दा अलि माथिबाट ट्र्याक खोलिएकाले १८ देखि २० प्रतिशतसम्म ग्रेडिङ भएकोले त्यसलाई घटाएर १० प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । खोलिएको ट्र्याकमा कुनै ठाउँमा सोलिङ र कुनै ठाउँमा ग्राभेलिङ गरी ठूला मालवाहक गाडी चल्न सक्ने बनाइनेछ । इन्जिनियर श्रीवास्तवका अनुसार त्यहाँको पहिरो रोकथामका लागि रु १५ करोड बजेट लाग्ने अनुमान गरिएको छ । त्यसै गरि भविष्यमा पुरानै ट्र्याकबाट सडक लगिने सोच रहेकाले त्यसको लागि करिब रु १० करोड बजेट लाग्ने अनुमान छ । सडक डिभिजनले ड्यामसाइटदेखि टेकानपुर–तौथली–धुस्कुन हुँदै बाह्रविसे जान खोलेको सडक साघँुरो र लामो दूरी रहेको छ । ड्यामसाइटदेखि बाह्रविसेसम्म साविक दूरी तीन किमी रहेकामा सडक विभागले खोलेको ग्रामीण सडकको दूरी ३४ किमि रहेको छ । उक्त सडक साघुँरो र लामो भएकाले नेपाली सेनाले ड्यामदेखि धुस्कुन सम्मको ११ किमिमध्ये सात किमि नयाँ निमार्ण सुरु गरिएको र सुनकोसीमा बेलिव्रिज राख्नुपर्ने र ट्र्याक खोल्न ढिलाइ भएको भन्दै व्यवसायीले छोटो दूरीको ट्र्याक खोल्न सुरु गरेका थिए । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल हिमालय सीमा वाणिज्य सङ्घ र नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घको संयुक्त रु ७० लाखको लागतमा ट्र्याक खोल्न सुरु गरिएको थियो । व्यवसायीको उक्त कामलाई साथ दिँदै सडक डिभिजन कार्यालयले पनि दुईदिन पछि ड्यामसाइटबाट काम सुरु गरेको थियो ।
पहिरोले सडक अवरुद्ध भए पछि दशैंको लागि व्यापारीले चीनवाट झिकाएका तयारी पोसाक, जुत्ता, इलेक्ट्रोनिकलगायत रु पाँच अर्ब बराबरका सामान लोड भएका करिब ७०० मालवाहक कन्टेनर विगत २७ दिनदेखि खासा र तातोपानी भन्सार परिसरमा अलपत्र अवस्थामा छन् । यसबाट तातोपानी भन्सार कार्यालयमा प्राप्त हुने करोडौँको राजस्व आएको छैन् ।