७० जनाको ज्यान जानेगरी भएको बिस्फोटको जिम्मेवारी आईएसले लियो


isisइराकको पूर्वी प्रान्त दियालामा भएको दुईवटा आत्मघाती बम आक्रमणको इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको समाचार छ । सो समूहले अनलाइनमार्फत जारी एक विज्ञप्तिमा सो जानकारी दिएको छ । इराकको राजधानी बग्दाददेखि ६५ किलोमिटर उत्तरपूर्वमा पर्ने प्रान्तीय राजधानी बाकुबा नजिकैको गाउँ हुवैदेरमा सिया समूदायबीच गराइएको सो आत्मघाती विस्फोटमा परी मृत्यु र घाइते हुृनेको सङ्ख्या एकसय भन्दा बढी रहेको बताइएको छ । उता सोमबार अबेर राति हुवैदेर गाउँ व्यस्त बजारक्षेत्रमा तरकारीले छोपेर ल्याइएको विस्फोटक पदार्थलाई आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा कम्तीमा ५३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७० भन्दा बढी व्यक्ति घाइते भएका प्रान्तीय सुरक्षा स्रोतले सिन्ह्वा समाचार समितिलाई बताएको छ । सुरुमा प्राप्त समाचारमा यसमा आक्रमणमा परी ३५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६५ घाइते भएका बताइएको थियो । घाइतेमध्ये पनि २० जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरिएको छ । यस भीषण विस्फोटबाट २० वटा पसल ध्वस्त भएको र नजिकै रहेको सवारीसाधन र भवनहरुसमेत क्षतिग्रस्त भएको जनाइएको छ । त्यसैगरी अर्को आत्मघाती आक्रमण बाकुबादेखि २० किलोमिटर उत्तरपूर्वमा पर्ने कनानसहरको प्रवेशद्वारमा रहेको एक प्रहरी चौकीमा भएको जनाइएको छ । सो आक्रमणमा परी पाँच प्रहरी र एक सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । सो आक्रमणमा प्रहरी चौकी परिसरमा रहेका चार सर्वसाधारण घाइते भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?