जनताको आलोचनापछि प्रधानमन्त्रीद्वारा राजिनामा
लिबियाली प्रधानमन्त्रीलाई जनताले सरकारका कामप्रति आलोचना गरेपछि आफ्नो पदबाट राजिनामा दिनुभएको समाचार छ । उहाँलाई जनताले आधारभूत सेवा पनि प्रदान गर्न नसकेको भनी आलोचना गरेका थिए । सरकारले जनताको माग बमोजिम बिजुली वितरण गर्न नसकेको, महँगी नियन्त्रण गर्न नसकेको तथा सुरक्षा दिन पनि नसकेको भनी जनताले आलोचना गरेपछि उहाँले आफ्नो पदबाट राजिनामा दिनुभएको हो । केही दिनयतादेखि नागरिकले सरकारका कामहरुको आलोचना गर्ने गरेका थिए । सरकारले आवश्यक मात्रामा सुरक्षा पनि दिन नसकेको भनी सरकारको व्यापक मात्रामा आलोचना गरेका थिए । मङ्गलबारको एक टेलिभिजन कार्यक्रममार्फत नै लिबियाली प्रधानमन्त्री अब्दुल्लाह अल थानीले आफ्नो पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री थानीको यो सरकार विश्वव्यापी मान्यताको सरकार हो भनिएको छ । उहाँले यस्तो वैधानिक सरकारबाट दिनुभएको राजिनामाको विषयको निकै चर्चा भएको बताइन्छ । उहाँले मङ्गलबार लिबियाको सरकारले यहाँका विद्रोहीसँग वार्ता सुरु गरेकै दिन पदबाट राजिनामा दिनुभएको बताइएको छ । यसलाई पुन अर्काे आश्चर्य भनी टिप्पणी गरिएको छ । राजिनामामा उहाँले भन्नुभएको छ– ‘यदि मेरो राजिनामा नै समाधान हो भने मैले यहीबाटै राजिनामाको घोषणा गर्दछु ।’ टेलिभिजन कार्यक्रममा उहाँले यो धारणा राख्नुभएको थियो । उहाँले आफ्नो राजिनामा आगामी आइतबार संसदमा प्रस्तुत गर्ने पनि सोही टेलिभिजन कार्यक्रममार्फत घोषणा गर्नुभएको थियो । उहाँले भन्नुभयो– मैले राजिनामाको घोषणा यसै कार्यक्रममार्फत गरेँ र आइतबार संसदमा प्रस्तुत गर्नेछु । सो टेलिभिजन कार्यक्रममा उहाँको सरकारले भ्रष्टाचार गरेको भनी व्यापक मात्रामा आलोचना गरिएको थियो । त्यसपछि उहाँ सो कार्यक्रममै तनावमा आउनुभएको थियो । गत मे महिनामा उहाँको सवारीमाथि बम विस्फोट पनि गराइएको थियो । विद्रोहीहरुले उहाँलाई नै लक्ष्य गरेर सो आक्रमण गरेका थिए । लिबियाका शक्तिशाली शासक माउमर कद्दाफिलाई यहाँको जनआन्दोलनका माध्यमबाट सन् २०११ मा सत्ताच्युत गरिएपछि लिबियामा राजनीतिक अस्थिरता छाएको छ । अहिले पनि यहाँ दुई फरक र समानान्तर संसद र सरकार रहेका छन् । अर्काे सरकार विद्रोहीले चलाएका छन् । तर प्रधानमन्त्री थानीको सरकार वैधानिक सरकार हो र यसलाई विश्वले नै मान्यता दिएको छ ।