वन्यजन्तु तस्करीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै काठमाडौँ
बर्सेनी दर्ता हुने वन तथा वन्यजन्तु तस्करीका मुद्दाको सङ्ख्या र प्रकृति हेर्दा काठमाडौँ उपत्यका वन्यजन्तु तस्करीको अन्तर्राष्ट्रिय केन्द्रका बन्दै गएको देखिन्छ । नेपालबाट अधिकांश वन्यजन्तुका अङ्गको तस्करी काठमाडौँ हँुदै सहज रुपमा छिमेकी मुलुक चीनतर्फ हुन्छ । चीनबाहेक वन्यजन्तुका अङ्गको ओसारपसार मलेसिया, जापान, युरोप तथा संयुक्त राज्य अमेरिकासम्म हुने गरेको छ । आव २०७१÷७२ मा मात्रै वन्यजन्तुका ४० र वन पैदावारका १४ मुद्दामा ८९ जनामाथि कारबाही गरिएको जिल्ला वन कार्यालय काठमाडौँले जानकारी दिएको छ । अन्य पक्राउ नपरेका र सम्बन्धित कर्मचारीको मिलेमतोमा छुटेका मुद्दा पनि सोही हाराहारीमा रहेको अनुमान छ । पक्राउ परेकामध्ये ठूलोमात्रामा ध्वाँसे चितुवा, चितुवा, रेडपाण्डा, रतुवा मृगको छाला, सालकका खपटा, भालुको पित्त, गैँडाको खाग, हुचिल, दुर्लभ चराचुरुङ्गी, समुद्री घोडालगायतका जन्तु र अङ्ग हुने गरेको जिल्ला वन अधिकृत डा इन्द्रप्रसाद सापकोटा बताउनुहुन्छ । यस्तो कारोबारमा संलग्न व्यक्ति पक्राउ परेपछि प्रायःले ‘पहिलो पटक हो, गैरकानुनी हो भन्ने जानकारी भएन’ भन्ने बयान दिने गरेका छन् । पक्राउ परेका अधिकांश मुद्दा भने चितुवाको छाला, राजस्व नतिरेको यार्सागुम्बा, सालको काठको ओसारपसारसँग सम्बन्धित छन् । वनजन्य मुद्दामा भने यार्सागुम्बा, सालको काठ, रक्त चन्दन, कोइलाको अवैध ओसारपसार रहेको वन अधिकृत सापकोटा बताउनुहुन्छ । काठमाडौँबाट वन्यजन्तुका हाडछाला तथा अन्य सामग्रीको ओसारपसार बढी मात्रामा चीनतर्फ हुने गरेको छ । चिनियाँ परम्परा, उनीहरूको सौखिन जीवनशैली र खुला ओसारपसारका कारण चीनमा वन्यजन्तुको माग हुने गरेको वन कार्यालय काठमाडौँको भनाइ छ । चीनले दुर्लभ वन तथा वन्यजन्तुको ओसारपसार नियन्त्रणका लागि गरिने ‘साइटिस अन्तर्राट्रिय अभिसन्धि’मा अहिलेसम्म हस्ताक्षर गरेको छैन । नेपाल र भारतले उक्त अभिसन्धिमा हस्ताक्षर गरेका कारण यहाँ दुर्लभ वन तथा वन्यजन्तुको ओसारपसार गैरकानुनी हुन्छ । राजधानीमा दुर्लभ वन्यजन्तुको ओसारपसारका ९९ प्रतिशत घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अपराधी पक्राउ गरी वन कार्यालयमा बुझाउने गरेको छ । ब्युरोका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रायः उपत्यका बाहिरबाट ल्याइने दुर्लभ वन्यजन्तुका अङ्गको कारोबारका लागि राजधानी केन्द्र बनेको छ । यसमा संलग्न व्यक्ति सुराकीले दिने सूचनाका आधारमा पक्राउ पर्ने गरेको र त्यस्ता व्यक्ति चार÷पाँच तहसम्मका हुने गरेको प्रहरी निरीक्षक राना बताउनुहुन्छ । कतिपय मुद्दामा सांस्कृतिक र परम्परागत रुपमा वन तथा वन्यजन्तुका अङ्गको प्रयोग गर्ने निर्दाेष व्यक्ति पनि कारबाहीमा पर्ने गरेको सुनिन्छ नि भन्ने जिज्ञासामा प्रहरी निरीक्षक राना भन्नुहुन्छ, “हामी व्यापारिक प्रयोजनका लागि आउने दुर्लभ वन तथा वन्यजन्तुका अङ्गको कारोबारमा मात्र कानुनी कारबाही गर्छौं ।” वन कार्यालयले प्रहरीको समन्वयमा थालेको नियन्त्रण अभियान र कडा कानुनी कारबाहीका कारण वन्यजस्तुको तस्करीमा कमी आएको दाबी गरिएको भए पनि राजधानीमा वन्यजन्तु तस्करीका घटना बढ्दै गएको देखिन्छ । गत आवमा मात्र बरामद गरिएकामध्ये सबभन्दा बढी चितुवाको छाला १४ थान, रेडपाण्डाको छाला १२ थान र रतुवा मृगका छाला पाँच थान, भालुको पित्त तीन थान, १७७ वटा चराको अवैध बिक्री वितरणका मुद्दा रहेका छन् । बरामद परी ल्याइएकामध्ये रु पाँच हजारभन्दा कम बिगो हुने वनका मुद्दा र वन्यजन्तुसम्बन्धी सबै मुद्दाको फैसला जिल्ला वन कार्यालयले गर्ने प्रशासन तथा मुद्दा शाखाका प्रमुख दीपा बुढाथोकी बताउनुहुन्छ । त्यसमाथिका बिगो भएका वनसम्बन्धी मुद्दा भने कार्यालयले अदालतमा पठाउने गरेको छ । केही कानुनको समसामयिक परिमार्जन हुन नसक्नु, कतिपय वनजन्य सामग्रीको पहिचान गर्न प्रयोगशाला तथा विज्ञको अभाव हुनुजस्ता चुनौती रहेको उहाँ स्वीकार्नुहुन्छ । वन कार्यालयले गत आवमा सङ्कटमा परेका चितुवा, बँदेल, चिल, हुचिल, सालक, गोहोरो, वन बिरालोलगायतका वन्यजन्तु तथा चराचुरुङ्गीको उद्घार गरेको थियो ।