मोदी दुबईमा व्यस्त, राजकुमार र प्रधानमन्त्रीसँग भेट
दुईदिने संयुक्त अबर इमिरेट्स (यूएई) को भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँका राजकुमार शेख मोहमद बिन जायद अल नहयनसँग सोमबार भेट गर्नुभएको छ । जायद अल नहयन यूएई सेनाका नायक परमाधिपति पनि हुनुहुन्छ । त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले सोमबारै यूएइ का उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहमद बिन रसीद अल माक्तौमसँग पनि भेट गर्नुभयो । भेटका अवसरमा उहाँहरूले सुरक्षा चासोका मुख्य विषय तथा व्यापार सम्बन्धमा छलफल गर्नुभएको थियो । दुवै पक्षबाट दुई देशबीच रहँदै आएको सम्बन्धका विषयमा रणनैतिक तहमा छलफल भएको बताइएको छ । उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदी र यूएईका राजकुमार जायद अल नहयन, प्रधानमन्त्री रसीद अल माक्तौम लगायतसँग एसिया क्षेत्रको समग्र राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुभएको थियो । मोदीले एसिया क्षेत्रमा बढ्दै गएको आतङ्कवाद र अतिवादका विषयमा यूएईसँग चासो व्यक्त गर्नुभएको थियो । इस्लामिक स्टेट मिलिटेन्ट (आईएस) लडाकू समूहको बढ्दो आतङ्ककारी सञ्जालका बारेमा पनि दुई देशका नेताबीच गहन छलफल भएको थियो । भारतीय प्रधानमन्त्री मोदी बस्नुभएको एमिरेट्स प्यालेस होटलमा भएको वार्ताका क्रममा दुई देशबीच व्यापार र आर्थिक गतिविधिका बारेमा समेत छलफल भएको थियो ।
प्रम मोदीद्वारा मस्दार सहरको समेत अवलोकन
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो यूएईको दोस्रो दिनको भ्रमणका क्रममा सोमबार शून्य कार्बन सहर तथा विज्ञान तथा प्रविधिको आविष्कारका लागि प्रसिद्ध मस्दार सहरको अवलोकन गर्नुभएको छ । मस्दार नवीकरणीय ऊर्जाद्वारा सञ्चालित विभिन्न उद्योगका लागि प्रसिद्ध सहर हो । अबुधाबिबाट करिब १७ किलोमिटर टाढा रहेको मस्दार सहरको १ घण्टा लामो यात्रामा उहाँलाई अधिकारीहरूले सहरका बारेमा जानकारी गराउनुभएको छ ।