काठमाडौंको सडकमा मध्यान्ह नै गोली हानाहान, गुण्डानाइके घैंटेसहित ३ घाइते
काठमाडौंमा गुण्डागर्दी नौलो होइन । कसैले कुनै व्यवसाय गरेको देख्यो भने, उसबाट हफ्ता असुली गर्ने टोले गुण्डादेखि डन भनाउँदाहरुसम्म निकै हुन्छन् । तर, पछिल्लो समय चरीको ईन्काउन्टरपछि भने यस्तो घटनामा कमी आएको भनिएपनि भित्रभित्रै चन्दा दिने र लिने क्रम चलिरहेको थियो । यसैगरी चन्दा उठाउन हिँडेका थिए बिहीबार कुमार घैंटे कपुरधारामा । उनको साथमा टोली नै थियो । अकस्मात प्रहरी पनि त्यहाँ पुग्यो । जब प्रहरीलाई देख्यो कुमार घैंटेले अनि उसले पेस्तोल निकालेर प्रहरीलाई गोली हान्न सुरु गरेको प्रहरीले बताएको छ । यसपछि प्रहरीले पनि जवाफी फायर गर्दै घैंटेसहित तीनजनालाई सडकमा ढाल्न सफल भए । र, उनीहरुलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको छ । निकै लामो समयदेखि प्रहरीको खोजी सूचिमा रहेका कुमार घैंटे दिनदहाडै हतियारसहित समूहमा घुमेको अवस्थाबाट काठमाडौंको शान्ति सुरक्षा कस्तो थियो भन्ने प्रष्ट हुन्छ । यद्यपि, प्रहरीले यतिबेला भने उनलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसपी सर्वैन्द्र खनाल भन्छन् प्रहरी टोलीमाथि गोली चलाउन सुरु गरेपछि हामीले जवाफी फायर गरेका हौं । उनीहरुले चलाएको गोली भुईंमा लागेको थियो । जबर्जस्ती चन्दा असुली, गुण्डागर्दी र ज्यानमार्ने उद्योगअन्तर्गत घैंटेको खोजी भइरहेको थियो । कुमार घैंटे विभिन्न खेलकुदसम्बन्धी संस्थाको आवरणमा आपूmलाई समाजसेवी भनेर चिनाउने गर्दथे । यहाँ राखिएको तस्वीर कुमार घैंटेले केही दिनअघि आफ्नो फेसबुकमा राखेका थिए । उनले आपूmसँग धन रहेको र त्यसलाई डरधम्की र त्रासको माध्यमबाट नै कमाएको खुलासा हुनेगरी र अरुलाई तर्साउनका निम्ति पनि पेस्तोलसहितको फोटो पनि राखेका थिए । हजार हजारका सैयौं गड्डीको अघि पैसा खाँदै गरेको जस्तो देखिने तस्वीर राखेर उनले आफ्नो प्रचार गरेका थिए । (तस्वीर कुमार घैंटेको फेसबुक पेजबाट)