न्यायाधीश बमलाई गोली ठोक्ने हत्यारा स्माइली मगर सार्वजनिक
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्ने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान व्यूरोले आज सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोले आज यहाँ पत्रकार सम्मेलन गर्दै विसं २०६९ जेठ १८ गते ललितपुर युएन पार्कनजिक न्यायाधीश बमलाई गोलीहानी हत्या गर्ने रामेछाप खनियाँपानी–७ का २८ वर्षीय स्माइली मगर रोजगारीका लागि २०७१ मङ्सिर २८ मा साउदी अरब पुगेकामा इन्टरपोलको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो । चुरे भावर राष्ट्रिय पार्टीका केशव मैनाली र बाबु थापा भन्ने मेघबहादुर थापाबीचको मुद्दामा पार्टीका तत्कालीन उपाध्यक्ष थापाले आफ्नो पक्षमा फैसला नआएको भन्दै न्यायाधीश बमको हत्या गर्न मगरको सहयोग लिएको आरोपमा अभियुक्त मगरलाई पक्राउ गरिएको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभयो । स्माइली मगर पैसाका लागि नभई राजनीतिक लाभका लागि हत्यामा सङ्लग्न भएको अनुसन्धानबाट खुलेको व्यूरो प्रमुख मल्लले बताउनुभयो । मल्लले भन्नुभयो, “हत्यामा सङ्लग्न बाबु थापासहित अन्य चार जनालाई गत पुसमा नै पक्राउ गरिएको थियो, तर स्माइली सवारी चालक भिसामा काम गर्न साउदी अरब पुगेका थिए ।” पुसमा पक्राउ पर्नेमा बाबु थापा, शिव भन्ने करन चौधरी, ‘नवीन’ भन्ने प्रेमराज खड्का र दीपक कर्ण रहेका थिए । बाबु थापासहितको समूह पक्राउ गरेपछि इन्टरपोलमार्फत सूचना जारी गरेर स्माइलीलाई पक्राउ गरिएको हो । साउदी अरबमा पक्राउपछि नेपाल ल्याउन अदालतको आदेश चाहिने भएकाले समय लागेको व्यूरोले जनाएको छ । यसैबीच, व्यूरोले नेपाली युवतीलाई रोजगार लगाइदिन्छु भनी मानवबेचबिखन गर्ने गिरोहलाई पक्राउ गरेको छ । भारतको नयाँदिल्ली हुँदै दुवई, कुवेत र इराकलगायतका देशमा पठाउन लागिएका २७ युवतीलाई उद्वार गरिएको व्यूरोले जनाएको छ । उद्धारपछि युवतीलाई सोधपुछ गर्ने क्रममा ‘सुशील’ भन्ने सुजिल राई र राजुबाबु श्रेष्ठलाई पक्राउ गरिएको छ । भारतमा ‘दयाराम पण्डित’ भन्ने ईश्वर न्यौपाने र विष्णु तामाङलाई पनि पक्राउ गरिएकोे छ । व्यूरोले २०७१ को वार्षिक प्रगतिसमेत सार्वजनिक गरेको छ जसमा अपहरण, ठगीलगायत जघन्य अपराधमा १८ जनालाई मुद्दा चलाइएको तथा ३९ जनालाई पक्राउ गरेको जनाएको छ । आर्थिक अपराधमा २८ जनालाई मुद्दा चलाइएको तथा ५६ जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसारमा १९ मुद्दा परेका छन् भने ५८ जनालाई पक्राउ गरिएको व्यूरोले जनाएको छ । वन्यजन्तु तथा वातावरण अपराधमा ८५ जनालाई पक्राउ गरिएको तथा ३७ जनालाई कारबाही गरिएको छ । विद्युतीय अपराध अनुसन्धानमा १२ जनालाई पक्राउ गरिएको तथा ६० जनालाई मुद्दा चलाएको व्यूरोले जनाएको छ ।
आज बयान
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गरेको आरोप लागेका ‘भगवान्’ भन्ने सन्जय स्माइली मगरलाई आज बयानका लागि पेस गर्न ललितपुर जिल्ला अदालतले प्रहरीलाई आज आदेश दिएको छ । ललितपुर जिल्ला अदालतका श्रेस्तेदार बाबुराम दाहालका अनुसार आइतबार मगरको बयान हुन समय नभएका कारण सोमबार पेस गर्ने गरी अदालतले प्रहरी प्रशासनकै जिम्मा लगाएर पठाएको जानकारी दिनुभयो । सो अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बयान लिन नभ्याएका कारण स्माइलीलाई सोमबार ल्याउने गरी लिखित आदेश दिएको श्रेस्तेदार दाहालले बताउनुभयो । जिल्ला सरकारी वकिलको कार्यालय, ललितपुरले भने यसअघि स्माइलीलगायतविरुद्ध सर्वस्वसहित जन्मकैद गर्न माग गर्दै सो अदालतमा मुद्दा दायर गरिसकेको थियो । सर्वोच्च अदालतका न्यायाधीश बमको हत्या गरे लगत्तै स्माइली रोजगारीका लागि साउदी अरब गएका थिए । प्रहरीले साउदी अरबबाट आइतबार नेपाल ल्याई स्माइलीलाई सार्वजनिक गरेको थियो । इन्टरपोलको सहयोगमा साउदीमा पक्राउ परेका स्माइलीलाई केन्द्रीय अनुसन्धान ब्युरोले नयाँ दिल्ली हुँदै आइतबार विहान ९ बजे एयर इन्डियाको विमानबाट काठमाडौँ ल्याएको थियो । सर्वोच्च अदालतका न्यायाधीश बमको २०६९ साल जेठ १८ गते ललितपुरको युएन पार्कनजिक गोलीहानी हत्या गरिएको थियो । स्माइलीलाई बममाथि गोली हानेको आरोप लगाइएको छ । उनीलगायतमाथि चुरे भावर पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापाको योजनामा बमको हत्या गरेको आरोप लाग्दै आएको छ ।