कैलालीमा ज्यान गुमाएका प्रहरीको नामावली
मनुवा गाबिस–६ सिलमचौरमा सोमबार प्रहरी र प्रदर्शनकारीबीच भएको दोहोरो भिडन्तमा परी प्रहरी बरिष्ठ उपरीक्षकसहित ५ जना प्रहरी र २ जना सशस्त्र प्रहरीको निधन भएको छ । निधन हुनेहरुमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द रहेका छन् । यसैगरी सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारु रहेका छन् । टिकापुरमा स्थानीय प्रशासनद्वारा सोमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्वमा कर्णाली गाविस, पश्चिममा मनुवा गाविस, उत्तरमा पथरिया गाविस र दक्षिणमा धनसिंहपुर गाविससम्म निषेधाज्ञा जारी गरिएको थियो । सो क्षेत्रमा थरुहटका बन्दकर्ताले जबरजस्ती निषेधाज्ञा तोडन खोज्दा प्रहरी बरिष्ठ उपरीक्षक न्यौपानेसमेतको टोलीले सम्झाई बुझाई गर्नेक्रममा प्रदर्शनकारीले एक्कासि हमला गर्दा उहाँहरुको निधन भएको हो ।
झडपमा परी प्रहरी निरीक्षक एकेन्द्रबहादुर खड्का लगायत २० जना प्रहरी कर्मचारीहरु घाइते भएका छन् । घाइतेमध्ये प्रहरी नायव निरीक्षक रवीन्द्र धनुषे लगायत २ जनालाई टिकापुर अस्पतालमा सामान्य उपचारपछि नेपालगंज पठाइएको छ । अन्य घाइतेहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।