आजबाट संविधानसभामा मस्यौदाको बुँदागत शैद्धान्तिक छलफल, सडकमा प्रदर्शन
आजबाट संविधानसभाको बैठकमा गणतन्त्र नेपालको संविधान २०७२ का प्रावधानहरुमाथि बुँदागत छलफल सुरु हुने भएको छ । यसको पूर्वसन्ध्यामा नेकपा एमाले र एमाओवादीले आफ्ना सभाषद्हरुलाई बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा स्पष्ट निर्देशन दिइसकेको छ भने काँग्रेसले पनि आफ्ना सभाषद्हरुको निम्ति बैठकमा आफ्ना कुरा राख्ने विषयमा गम्भीर बन्न निर्देशन दिएको छ । संविधानसभामा ह्वीप नलाग्ने भएका कारण सभाषद्हरु आफ्नो हिसाबले कुनैपनि विषयमा फरक मत राख्न स्वतन्त्र हुन्छन् । तर, यसरी सत्तापक्षकै तर्फबाट फरक मतका निम्ति समय मागिएको अवस्थामा संविधान लेखनको कार्य लम्बिन सक्दछ । यो छलफल लम्बिएर महिनौं पुग्न पनि सक्दछ । यसैकारण ठूला दलहरुले आफ्ना सभाषदहरुलाई स्पष्ट र कडा निर्देशन दिएका हुन् । अर्कोतर्फ, संविधानसभामा संविधानको मस्यौदामा छलफल चल्दा संविधानसभा भवन बाहिर भने आदिवासी जनजातिले प्रदर्शन गर्ने भएका छन् । खुल्लामञ्चबाट सुरु भएको उनीहरुको जुलुस संविधानसभा भवन बाहिर पुगेर कोणसभामा परिणत गरिने कार्यक्रम तय भएको छ । अर्कोतर्फ, देशका विभिन्न भागमा सिमानाका विषयमा असन्तुष्टी जाहेर गर्दै प्रदर्शन भइरहेका छन् भने विभिन्न ठाउँमा निषेधाज्ञा पनि जारी गरिएको छ । स्थिति तरल बनेको यो अवस्थामा संयमता आवश्यक भएको सबै पक्षले बताएका छन् ।