जब पुगे अमरेश २४ घण्टे पूर्जी बुझ्न केन्द्रीय कार्यालय…
विवादास्पद अभिव्यक्ति दिनुभएका नेपाली काँग्रेसका सभासद् अमरेशकुमार सिंहले पार्टी कार्यालय सानेपा पुगी स्पष्टीकरण पत्र बुझेका छन् । सभासद् सिंहले कैलालीको टीकापुरमा सामाजिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएको भन्दै काँग्रेस केन्द्रीय समितिले बुधबार सिंहसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार सिंहले पत्र बुझेको २४ घन्टाभित्र स्पष्टीकरण दिनुपर्नेछ । सिंहलाई मधेसी मोर्चाका नेता उपेन्द्र यादव र राजेन्द्र महतोसँगै टीकापुरमा भएको थारुहटको कार्यक्रममा स्थानीय समुदायलाई अधिकारका लागि हतियार उठाउन उक्साएको विवादास्पद अभिव्यक्ति दिनुभएको आरोप लागेको थियो । त्यसको केही दिनपछि सोमबार थारु समुदायको आन्दोलनमा भड्किएको भीडले वरिष्ठ प्रहरी उपरीक्षकसहित सात जना प्रहरी र एक नाबालकको हत्या गरेको थियो । यसअघि काँग्रेस संसदीय दलले यसअघि सिंहसँग प्रदेश नपाए देश माग गर्दै नारा लगाएको अभिव्यक्ति भन्दै स्पष्टीकरण लिएको थियो ।