एक्सपर्ट ग्रुप नेप्लीज अष्ट्रेलियन वेल्फेयर सोसाईटी कप फुटबलको उपाधी सेन्ट जर्ज फ्रेण्डस क्लबलाई


football football1यस वर्षको एक्सपर्ट ग्रुप नेप्लीज अष्ट्रेलियन वेलफेयर सोसाईटी कप फुटबलको उपाधि सेन्टजर्ज फ्रेण्डस क्लबले जितेको छ । १६ टिमले ३२ खेल खेलेको प्रतियोगिताको फाईनल खेलाम सेन्ट जर्ज नेप्लीज क्लबलाई टाई ब्रेकरमा हराउँदै क्लबले उपाधि हात पारेको हो । यससँगै क्लबले एक हजार डलर राशी र रनिंग शिल्ड तथा ट्रफी पनि जितेको छ । आइतबार भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि पुनः थपिएको समयमा पनि गोल हुन सकेन र खेल टाई ब्रेकरमा प्रवेश गरेको थियो । जसमा सेन्ट जर्ज नेप्लीज क्लबको तर्फबाट एक खेलाडीले पोष्टभन्दा निकै पर बल प्रहार गरेपछि सेन्टजर्ज फ्रेण्डस क्लबको जीत सुनिश्चित बनेको थियो । यसैगरि प्रतियोगितामा ओएसीस फुटबल क्लब डाँफे तेश्रो हुन सफल भयो भने सिम्रिक फुटबल क्लब चौथो स्थानमा चित्त बुझाउन पुग्यो । विजयी खेलाडीका साथै मष्ट भ्यालुएवल प्लेयरको उपाधि सिम्रिक फुटबल क्लबका आशिष श्रेष्ठलाई प्रदान गरियो । यसैगरी, मस्ट प्रोमिसिंग प्लेयर वेष्ट युनाईटेडका पारस थापा, बेष्ट डिफेन्डर लालीगुराँस फुटबल क्लबका मनबहादुर डाँगी, बेष्ट गोलकिपर सेन्टजर्ज फ्रेण्डस क्लबका तोम्याहांग सुब्बाले प्राप्त गरे । यस्तै ग्रानभिल राईनोका विकास सापकोटा सबैभन्दा बढी गोल गर्ने खेलाडी घोषित भए भने वेष्ट मिडफिल्डर डाँफे क्लबका निर्देश थापा, म्यान अफ द म्याच –फाईनल) सर्मेन गुरुंग र म्यान अफ द सिरिज निरज गौतम बन्न सफल भए । खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का प्रमुख अतिथि हुनुहुन्थ्यो भने एनआरएन ओसनिया क्षेत्रीय संयोजक विष्णु हमाल, टुर्नामेन्ट कमिश्नर राजु मानन्धर, अरुण तामांग र नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलियाका अध्यक्ष चित्र तुम्बाहाम्फे लगायत प्रायोजक अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले खेलको माध्यमबाट एकताबद्ध बनाउने सफलता पाएकोमा आयोजक संस्था लगायत खेलाडीहरुको प्रशंसा गर्नुभयो । उहाँले नेपाली समूदायको हित प्रबद्र्धनमा खेल प्रभावकारी हुने भन्दै यसलाई अझ व्यवस्थित र विस्तारित रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । टुर्नामेन्ट कमिश्नर राजु मानन्धरले सबै खेलाडीले अनुशासित भएर उत्कृष्ट प्रदर्शन गरेकोमा खुशी व्यक्त गर्नुभयो । विजयी खेलाडी र टिमलाई अतिथिहरुले पदक, प्रमाणपत्र र शिल्ड वितरण गर्नुभएको थियो । कार्यक्रमको समापनमा बोल्दै अष्ट्रेलियन वेलफेयर सोसाईटीका अध्यक्ष सञ्जीव शर्माले प्रतियोगिता सफल पार्ने सबैमा धन्यवाद ज्ञापन गर्दै अब अर्को वर्ष पनि यही उत्साहका साथ प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो । तस्वीरहरुको लागि हाम्रो फेसबुक एकाउन्ट लग अन गर्नुहोला ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?