भूकम्पका बेला सहयोग गर्ने दाताहरुलाई एनआरएन अध्यक्षबाट सम्मान, उम्मेद्वारीका विषयमा छुट्टै जमघट
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा सिड्नीमा एक सम्मान कार्यक्रम आयोजना भएको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प पश्चात एनआरएन अष्ट्रेलिया मार्फत सहयोग गर्ने दाताहरुको सम्मानमा कार्यक्रम आयोजना गरिएको थियो । सिड्नीको रकडेलस्थित एभरेष्ट फंक्सन सेन्टरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष एवं नेपाल सरकारका विशेष दूत शेष घलेले कसरी राहत वितरण कार्य भएको थियो भन्ने अनुभव सुनाउनुभयो । साथै, नेपालमा सरकारी निकायहरुसँग पैंठेजोरी खेल्दै सहयोगका निम्ति अघि सर्दा आइपरेका कठिनाईको बेलिविस्तार समेत घलेले लगाउनुभयो । साथै, भूकम्प पीडितलाई प्राप्त रकम पारदर्शी रुपमा खर्च गरिएको पनि उहाँले स्पष्ट गर्नुभयो । मान्यताप्राप्त अडिट कम्पनीबाट अडिट गराइएको र अहिले पनि भूकम्प पीडितको सहयोग खातामा १७ करोडभन्दा बढी रकम रहेको उहाँले जानकारी गराउनुभयो । (अडिट रिपोर्ट तपाईंले यहाँ हेर्न सक्नुहुनेछ ।)
http://nrna.org.np/downloads_pdf/edr_first_phase_audit_report.pdf
कार्यक्रममा बोल्दै न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले नेपाली समूदायबीच सम्मान भन्दा पनि हामीलाई यस दुःखद घडीमा सहयोग गर्ने अरु समूदायका सहयोगी मनहरुलाई सम्मान गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको थियो । कार्यक्रममै बोल्दै एनआरएन आईसीसी सचिव रञ्जु वाग्लेले भिडियो प्रस्तुति मार्फत उद्धार र राहत वितरणको क्रममा आइपरेको कठिनाईका विषयमा जानकारी गराउनुभएको थियो भने उपस्थित सबैलाई भूकम्प पीडितको सहयोगका लागि खेलेको भूमिकाका निम्ति खादा ओढाएर सम्मान गरिएको थियो । एनआरएन अध्यक्ष शेष घलेले सबैलाई खादा लगाइदिनुभयो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाको भूकम्प पीडित राहत संकलन टोलीको तर्फबाट पूर्वअध्यक्ष गोबा कटवालले आर्थिक विवरण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन एनआरएन सचिव तोनु घोतानेले र स्वागत सम्मान कार्यक्रमका संयोजक एवं एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले गर्नुभएको थियो । पोखरेलले प्राविधिक कारणले सबैलाई समयमै खबर गर्न नसकिको भन्दै सहयोगी हातहरुलाई सम्मान गर्दै जाने बताउनुभएको थियो । समापनमा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले भूकम्प पीडितको राहत र उद्धारका क्रममा एनआरएन अष्ट्रेलियाले खेलेको भूमिकालाई स्मरण गरी स्वयं अध्यक्ष घले नै आएर सम्मान गर्नु प्रशंसनीय भएको भन्दै अष्ट्रेलियामा सहयोगी हातहरुको कमी नभएको बताउनुभएको थियो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका तत्कालीन अध्यक्ष महेन्द्र ओली भने अनुपस्थित हुनुहुन्थ्यो । यस विषयमा प्रतिक्रिया लिँदा ओलीले भन्नुभयो, “अष्ट्रेलियाले विश्वभरि रहेका एनसीसीको तुलनामा धेरै सहयोग संकलन गरेको छ । यहाँका हामी नेपाली समूदायमात्र होइन अन्य समूदायले पनि ठूलो सहयोग गर्नुभएको छ । यसका निम्ति हजारौं स्वयंसेवक खटिएका छन् । उनीहरुलाई नसमेटेर छोटो सूचनामा, सय डेढ सयको उपस्थितिमा जुन किसिमको कार्यक्रम गर्ने निर्णय गरियो त्यसमा सहमत नभएका कारण म नगएको हो ।”
राति छुट्टै जमघट
सम्मान कार्यक्रममा एनआरएन अध्यक्ष शेष घलेको आगामी निर्वाचनमा उम्मेद्वारीका विषयमा छलफल गर्नका निम्ति उपस्थित सबैलाई कोग्रामा रहेको एभरेष्ट तन्दूरीमा आउन एनआरएन अष्ट्रेलियाका अध्यक्ष सिग्देलले निम्तो दिनुभएको थियो । करिब ७० जनाको उपस्थितिमा भएको अनौपचारिक छलफलमा बोल्ने अधिकांश वक्ताले एनआरएन अध्यक्षको रुपमा शेष घलेले निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए । देशमा पनि निरन्तर भइरहने नेतृत्व परिवर्तनले पछाडि परेको भन्दै सुरु गरेको योजना सम्पन्न गर्न पनि चुनावमा उठ्नुको विकल्प नभएको बताएका थिए । एनआरएन प्रवक्ता मन केसीका अनुसार कार्यक्रममा करिब ८० जना समूदायका अगुवाहरु सहभागी थिए । केसीले भन्नुभयो, “सबैले नेतृत्वको निरन्तरताका लागि सुझाव दिनुभयो । केहीले जिज्ञासा पनि राख्नुभयो । यसको प्रतिक्रियामा अध्यक्ष घलेले तपाईंहरुको साथ, सहयोग र सद्भावका कारण हर्षित बनेको भन्दै उपयुक्त निर्णय गर्ने बताउनुभएको थियो ।” यस छलफलमा एनआरएन आईसीसीका सचिव रञ्जु वाग्ले, प्रवक्ता मन केसी, कृष्ण गिरी, भोमा लिम्बु, अष्ट्रेलियाका केही पदाधिकारीहरु, न्यू साउथवेल्सका केही पदाधिकारी लगायत एनआरएन अष्ट्रेलियाका पूर्वसचिव भरत पोखरेल, अगुवा देव गुरुंग, व्यवसायी धर्म अधिकारी, प्रवासी नेपाली मञ्चका पूर्वअध्यक्ष हरि लामिछाने, नेपाली जनसम्पर्क समितिका सन्तोष सिटौला, समिम अनवर, एनआरएन ओसनिया क्षेत्रीय संयोजक विष्णु हमाल, एनआरउन पपुवा न्यूगिनीका अध्यक्ष राजबहादुर शाही लगायत सहभागी हुनुहुन्थ्यो ।