आजबाट हुने भनिएको एन्फाको साधारणसभा अदालतले रोक्यो
पाटन पुनरावेदन अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को यही भदौ १६ गते बुधबारको लागि बोलाइएको साधारणसभा रोक्न आज अन्तरिम आदेश जारी गरेको छ । एन्फाका उपाध्यक्ष विजयनारायण मानन्धरलगायतले दायर गरेको रिटमा यही भदौ १७ गते बिहीबारसम्म कुनै पनि काम कारबाही नगर्न पुनरावेदन अदालतका न्यायाधीश मोहनबहादुर कार्कीको एकल इजलासले अन्तरिम आदेश दिएको हो । मानन्धर र सदस्य सुमन केसी आफूहरुलाई कुनै पनि जानकारी नै नदिई साधारणसभा गर्न लागेको भन्दै अदालत पुग्नुभएको थियो । न्यायाधीश कार्कीको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्ने विषयमा छलफलका लागि बिहीबार दुवै पक्षलाई बोलाएको छ ।
जनही २ लाख
अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले यही भदौ १२ गते सम्पन्न उन्नाइस वर्षमुनि उमेर समूहको पहिलो साफ च्याम्पियसिप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली युवा टोलीका खेलाडीलाई जनही रु दुई लाख दिने भएको छ । सातदोबाटोस्थित एन्फा क्म्प्लेक्समा एन्फा अध्यक्ष एवम् सभासद् गणेश थापाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले युवा टोलीको सम्मानका लागि एन्फामा आबद्ध ४५ जिल्ला फुटबल सङ्घबाट रु एक एक लाख सङ्कलन गर्नाका साथै विभिन्न सङ्घसंस्थासँग समन्वयन गरी पुरस्कृत गर्ने निर्णय गरेको एन्फाले जनाएको छ । सो प्रतियोगितामा नेपालले अन्तिम खेलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो । नेपाली फुटबलको इतिहासमा नेपालले २२ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि हात पारेको थियो । त्यस्तै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पनि उक्त टोलीलाई जनही रु एक लाख प्रदान गरिने घोषणा यसअघि नै गरिसक्नुभएको छ ।