संविधान जारी गर्न दुई तिहाई जुटाउन काँग्रेस छलफलमा


नेपाली काँग्रेस संसदीय दल शीघ्र संविधान जारी गर्न एकताबद्ध भई सक्रिय ढङ्गले लाग्ने भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकले संविधान निर्माणको कार्य यथाशीघ्र सम्पन्न गर्न अन्य दलसँगको परामर्शलाई अघि बढाउने निर्णय गरेको हो । संविधानको मस्यौदा परिमार्जनका लागि अन्य दलको सहमति जुटाई दुई तिहाइ मतका साथ संविधान जारी गर्ने गरी आवश्यक परामर्श अघि बढाउने निर्णय भएको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मस्यौदा परिमार्जनको काम शीर्ष नेताको सल्लाहमा मुख्य सचेतकले गर्नेछन् । काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले संविधानसभामा प्रस्तुत संविधानको परिमार्जित विधेयकमाथि आवश्यक संशोधनका लागि अन्य दलसँग परामर्श गरी दुई तिहाइभन्दा बढी सङ्ख्या पु¥याउने गरी परामर्श गर्ने निर्णय भएको बताउनुभयो । संसदीय दलले विधेयक आवश्यक संशोधनका लागि परामर्श गर्न नेतृत्वलाई जिम्मा दिइएको र दुई तिहाइ पु¥याएर संशोधनको प्रस्ताव दर्ता गर्ने जिम्मा शीर्ष नेताको सल्लाहमा मुख्य सचेतकलाई दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । Ram Chandra Poudel Speaks to Media after CPDCC Meeting
विपक्षीसँग पनि कुराकानी
प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनलाई शान्तिपूर्ण राख्न सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार र राप्रपा नेपालका अध्यक्ष कमल थापासँग छुट्टाछुट्टै भएको भेटमा उहाँले संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न विचार र आस्थाका राजनीतिक दलको भावनाको प्रतिनिधित्व गर्दै संविधान निर्माण हुँदै गरेकाले संविधानमा कसैका पनि सबै कुरा समेट्न सम्भव नभएको बताउनुभयो । नेपाली जनताले झन्डै एक शताब्दी अघिदेखि लोकतान्त्रिक शासन पद्धति स्थापनाका लागि गरेको आन्दोलनबाट प्राप्त सङ्घीयता र गणतन्त्रसहितको समावेशी लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने संविधान निर्माण गरी जारी गर्न सबैको सहयोग र सद्भाव आवश्यक भएको बताउनुभएको उहाँका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । भेटमा संविधान निर्माण प्रक्रिया र संविधानमा थप अधिकारको माग राखी आन्दोलनमा उत्रिएका दल तथा समूहको माग र वार्ताका सम्बन्धमा कुराकानी भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?