गच्छदारको मोर्चाले भन्यो आन्दोलनकारीको मागलाई सम्बोधन गर्नुपर्छ
सङ्घीय लोकतान्त्रिक मोर्चाको आज बसेको प्रथम बैठकले हाल देशमा भइरहेको अप्रिय परिस्थितिलाई वार्ताका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)को कार्यालयमा बसेको मोर्चाको बैठकले मधेसी, थारु, आदिवासी जनजाति, मुस्लिम, दलितलगायतका समुदायबाट उठाइएका मागलाई सम्बोधन गर्न सरकार र तीन ठूला दल नेपाली काँग्रेस, नेकपा(एमाले) र एकीकृत नेकपा माओवादीसँग माग गर्ने निर्णय गरेको मोर्चाका संयोजक विजयकुमार गच्छादारले बताउनुभयो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले आन्दोलनरत शक्तिलाई सार्थक वार्तामा ल्याउन राजनीतिक वातावरण तयार पार्नुपर्नेमा जोड दिनुभयो । विशेषगरी तराईका विभिन्न स्थानमा घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र फिर्ता गरिनुपर्ने, निषेधाज्ञा हटाएर वार्ताको वातावरण बनाउन सरकार र तीन ठूला दलसँग माग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । वार्ताका लागि भोलि शनिबारसम्म निष्कर्षमा पुग्न नसकेमा संविधानसभामा संशोधन विधेयक प्रस्तुत गर्ने भदौ १९ को समयसीमालाई केही दिन पर धकेलेर भए पनि समस्याको समाधान निकाल्नुपर्नेमा मोर्चाको बैठकले जोड दिएको छ । बैठकले तीन ठूला दलले तराईलगायत अन्य स्थानमा भइरहेको आन्दोलनकारीको मागलाई सम्बोधन नगरी संविधानसभाले संविधान निर्माण कार्यलाई अघि बढाइएमा मोर्चा गठबन्धन संविधान निर्माण प्रक्रियाबाट अलग हुने निर्णयसमेत गरेको उहाँले बताउनुभयो । मोर्चामा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय मधेसी समाजवादी पार्टी र मधेसी जनाधिकार फोरम नेपाल(गणतान्त्रिक) रहेको छ ।