शाहरुख खानका छोरा आर्यन भोलि रिहा हुने
एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन भोलि (शुक्रबार) रिहा हुने भएका छन् । लागुऔषध मामिलामा प्रहरी हिरासतमा रहेका आर्यनलाई मुम्बई उच्च अदालतले २५ दिनपछि बिहीबार जमानतमा हिरासतमुक्त गर्ने आदेश दिएको हो ।
आर्यनले जमानत पाए पनि अझै एकदिन हिरासतमै बस्नुपर्ने छ। उनलाई कुन सर्तमा रिहा गर्ने भन्ने विषयमा बहस हुन बाँकी रहेकाले उनी बिहीबार नै घर जान नपाएका हुन्।
यसअघि सतीश मानसिन्दे र अमित देसाईले आर्यनलाई जमानत दिलाउन नसकेपछि उच्च अदालतमा मुकुल रोहितगीले आर्यनको पक्षबाट वकालत गरेका थिए ।
उनी भारतका पूर्वमहान्यायाधिवक्ता हुन् । भारतको एनसिबी (नारकोटिक्स कन्ट्रोल ब्युरो) ले गत अक्टोबर २ मा आर्यनलाई ड्रग्स पार्टी मुद्दामा पक्राउ गरी हिरासतमा राखेको थियो ।