वाह वाह र तालीको गुञ्जनकाबीच सकियो गजल मुशायरा २०१५


Gazalएक सय ५० औं मोती जयन्तीको अवसर पारेर सिड्नीमा आयोजना गरिएको गजल मुशायरा २०१५ वाहवाह र तालीको गुञ्जनबीच सम्पन्न भएको छ । देशप्रेम, देशपीडा र प्रेम अनि आकर्षण र विकर्षणका विभिन्न सुस्केराहरु पस्कदै १६ गजलकार र अन्य श्रष्टाले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । मुशायराको दोश्रो संस्करण २०१५ मा महेश्वर शर्मा, विज्ञान कँडेल, भीमसेन सापकोटा, निरज जोशी, आलोक कोइराला, विष्णु सापकोटा, भीम न्यौपाने, दिपक निरौला, सजल नयन, महेन्द्र पौडेल, जितेन्द्र मल्ल, विनायक अधिकारी, सुरेन्द्र दवाडी, गोपी दवाडी, निस्प्रभ सजी र सुरजदेव श्रेष्ठले आफ्ना प्रस्तुति दर्शकश्रोतामाझ पस्केका थिए । यस्तै मोक्षदा सिलवाल, दिपा भट्टराई, ईश्वर पोखरेल, प्रदिप चापागाईं, सञ्जीव पराजुली र दिपिका बस्यालले आफ्ना गीत र नृत्य मार्फत दर्शकलाई साहित्यको माहोलमा सांगीतिक रंग घोलेका थिए । देशको अहिलेको परिस्थितिलाई सम्झेर गजलकार सुरजदेव श्रेष्ठ मञ्चबाट भन्छन्,
आजैबाट मेरो खुकुरी म उद्याउनेछु
धेरै भयो छिमेकीले जिस्काइरहेछ
समयले पक्का केही बताइरहेछ
केही त सम्झ अब देशवासी हो
अरे केही त सम्झ अब देशवासी हो
को जलिरहेछ, को जलाईरहेछ ?
समयले पक्का केही बताइरहेछ ।
साहित्यकार भीमसेन सापकोटालाई देश दुखीरहेको छ, उनी अब वीर पुर्खाको रगतको टिका लाएर देशलाई लुट्न नदिने कसम खाँदैछन्,
काट्नु हुन्न आँगन, फाट्नुहुन्न हामीहरु
नटुटटाउ देश भन्दा गोली पाएर लेख्दैछु
देश तिम्रो पेवा होइन, बुझ अब लुट्न दिन्न
वीर पुर्खाको रगतको टिका लाएर लेख्दैछु
माटोको यो आज कसम खाएर लेख्दैछु
मेरो घायल देशको गीत गाएर लेख्दैछु ।।
यसैगरी गजलकार महेश्वर शर्माले पनि चर्किएको देश देखिरहेका छन् । उनी भन्छन् साँच्चै देश जलाउन मट्टीतेल नै छर्किएको हो भने हामी हारेर रोएका छौं ।
आजभोलि खै किन चर्किएको देश देख्छु
आगो लाउन मट्टीतेल छर्किएको देश देख्छु
पराईलाई जितिहिंड्ने इतिहास छ हाम्रो
लडाईंको मैदानबाटै फर्किएको देश देख्छु
टिकापुर रोइबस्दा आगो झोसी नाच्नेहरु
बर्बरता हिंसा हेर्दै तर्किएको देश देख्छु
आजभोलि खै किन चर्किएको देश देख्छु ।।

आलोक कोइरालालाई पनि देश नै दुखेको छ र उनी परदेशबाट आफ्नो अनुभव सुनाउँछन् र भन्छन्,
आफैंलाई काटे मैंले आफैंलाई मारें
कस्तो पापी भयो यो जात थर मेरो
यहीँ थियो खै कसले जलायो घर मेरो
म अफ्नै हुन्छु कि अरुको ठूलो डर मेरो ।
यसैगरी, दिपक निरौला परदेशमा रहेर देशमा बसेकी आफ्नी दिदीबहिनीको सम्झना गर्दछन् र भन्छन्,
मेरी बैनी मखमली सयपत्री उन्दै होलिन्
प्यारी बहिनी ढाकाटोपी बुन्दै होलिन्
पोहोर पाको ढाकाटोपी अझै मैल्या छैन ।।
गजलकार विज्ञान कँडेल मायाप्रेमको दस्तुर बताइरहेका थिए । मुटु रेटेर बजेको जीवनधुनमा उनको गजल केन्द्रित थियो,
जीवनको धुन निकाल्नलाई रेटिन्छ रे सारंगीमा मुटु
सजेको थियो किस्तिमा मुटु, बजार मायाको बिक्रीमा मुटु ।
उद्घाटन नाममा कटिन्छ यहाँ, रिबन जसरी कैंचीमा मुटु
सजेको थियो किस्तिमा मुटु, बजार मायाको बिक्रीमा मुटु ।।
निरज जोशी जीवनमा विवाह अघि र विवाह पछिका क्षणहरुलाई प्रस्तुत गर्दै रोमान्सको मुडमा देखिन्छन् र भन्छन्,
कहिले हुन्छ कहिले हुन्न भन तिम्रो के चाला हो
थाहा छ मलाई नसिकाउ कुन ओठ हो कुन गाला हो ।।
विष्णु सापकोटा तीजलाई विकृत बनाइएकोमा आक्रोशित बनेछन् । उनी पछिल्लो समयका विकृतिलाई प्रहार गर्दछन् आफ्ना सिर्जनाबाट ।
डिस्को अनि क्लब धाउँदै तीज मनाउन थाले
उर्लिएको बैंश ल्याएर खन्याउन थाले
रातो सारी चुरा पोते हराए खै कता ?
नर्तकीलाई हेर नांगै बनाउन थाले
उर्लिएको बैंश ल्याएर खन्याउन थाले ।।
गायन शैलीमा गजलकार भीम न्यौपानेले वाचन गरे,
तिमीलाई हेर्न आज मन्दिरमा पसेको छु आज
भित्री मन खोलेर बसेको छु आज ।।
कार्यक्रम सञ्चालन समेत गरिरहेका चर्चित गजलकार सुरेन्द्र दवाडी मध्यपूर्वका विभिन्न देशमा मरुभूमिमा पुगेका युवा सपनाको हत्या भएकोमा चिन्तित थिए र भन्दै थिए
फुल्छ सिउँडी, फुल्दैन गुराँस मरुभूमिमा
ठड्याउँछ उसले रंगशाला र बुर्जखलिफा मरुभूमिमा
मनाउँछ अर्कैले मधुमाश मरुभूमिमा
फुल्छ सिउँडी, फुल्दैन गुराँस मरुभूमिमा
खेल्छ बाज, खेल्दैन राजहाँस मरुभूमिमा
कार्यक्रमकी एकमात्र महिला हस्ताक्षर सजल नयनलाई आफ्ना भोगाई र दुखाईलाई प्रहार गर्न मन लाग्छ, र उनी मज्जाले आफ्नो भोगाईलाई पस्किन्छिन्,
सुनाउन्न भनेथें व्यथा जो सामू कसैको
होहल्लै मच्चियो र दुख्यो घाउ पुरानो
तस्वीर त्यही फर्कियो र दुख्यो घाउ पुरानो
विहानी बदलियो र दुख्यो घाउ पुरानो ।।
महेन्द्र पौडेल प्रेमको प्रस्ताव राख्ने शैलीमा आफ्नो गजल वाचन गर्छन्, तालीको गडगडाहटकाबीच
नब्बे छन् ताल आँखामा, देह नौ रसको पुरी
चञ्चले ताल झन् अर्को, कहाँ मारुँ म डबुल्की
आउ प्रिय म सुनाउँछु मुटु नै गाँसी ढुकढुकी ।।
मुशायरामा अन्तिमतिर व्यग्र प्रतिक्षामा रहेका साहित्यानुरागीहरुलाई आफ्नो प्रस्तुति दिँदै जितेन्द्र मल्ल देशको राजनीतिमाथि व्यंग्य गर्छन् र भन्छन्,
जसो तसो उम्क्याएथें उडुस घरबाट
पालो थाप्न आएका छन् मच्छड कति कति
छिर्के हान्ने तयारीमा नजर कति कति
मैले हिंड्ने गोरेटोमा पत्थर कति कति ?
निस्प्रभ सजि आफ्नो गजलमार्फत देश छोडेर विदेश आएकाहरुको भोगाईंको प्रतिनिधित्व गर्दै आपूmलाई प्रस्तुत गर्दछन् । निष्पक्ष भएर उनी स्वीकार्छन्, फर्किएर आउँछौं भनेर विदेशिएपनि यो मात्र बहाना भएको उनको ठम्याई छ,
कस्तो सपना देख्यौं वा कुन आशामा देश छोड्यौ
हामी सबैले विभिन्न बहानामा घर छोड्यौं
ढाँट्यौं हामी फर्किनेछौं केही सिकेर फर्किनेछौं
देशकै तलब खाँदै सरकारी कोटामा देश छोड्यौं
हामी सबैले विभिन्न बहानामा देश छोड्यौं
धेरै कुरा छुटेछन्, छुट्ने बेलामा थाहा भयो
जाउँ कि नजाउँ हुँदाहुँदै दुविधामा देश छोड्यौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास, साताको साहित्य, रचनावाचन, नेपाली कला तथा साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका सम्बन्धित फोटोहरु हाम्रो फेशबुक पेजमा हेर्न सक्नुहुनेछ । साथै, यस कार्यक्रममा वाचन गरिएका बाँकी अन्य गजलभिडियोहरु तपाईंले युट्युबको www.youtube.com/rachanabachan मा गएर हेर्न सक्नुहुनेछ ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?