यमनका शरणार्थी राष्ट्रपति हाडीको विद्रोहीसँग वार्ता नगर्ने अडान
यमनका निर्वासित राष्ट्रपति अवेद रब्बु मनसुर हाडीले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा यही हप्ताको अन्त्यतिर हुनसक्ने भनिएको वार्तामा आँफू सहभागी नहुने बताउनुभएको उहाँको कार्यालयले आइतबार जनाएको छ । हाडीले राष्ट्रपतिको रूपमा अन्तर्राष्ट्रिय मान्यता पाउनु भए पनि सियो विद्रोहीले यमनको राजधानी सानालगायतका धेरैजसो भूभागमा कब्जा जमाएको छ । राष्ट्रपति हाडीको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यमनको सिया हुठी नामक समूहसँग उक्त समूहले संयुक्त राष्ट्रसंघको सङ्कल्पमा व्यवस्था भएअनुसार राज्य संयन्त्रबाट नियन्त्रणमा लिएका हतियारसहित आत्मसमर्पण नगरेसम्म वार्ता सम्भव छैन ।” वार्ताका लागि उनीहरूद्वारा कब्जामा लिएका भूभागबाट फिर्ता हुनुपर्नेसमेत राष्ट्रपति हाडी समर्थित समूहको अडान रहने विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपति सन् २०१५ को सुरुवातसँगै यमनको राजधानीबाट भागी अहिले साउदी अरबमा शरण लिँदै आउनुभएको छ । राष्ट्रपति हाडीको सरकारले साउदी अरबका सिमानामा अवस्थित विभिन्न भूमागबाट अमेरिका समर्थित संयुक्त फौजले यमनी हुठी विद्रोहीविरुद्ध गएको मार्चदेखि हवाई कारबाही चलाउँदै आएको छ । हुठी विद्रोहीलाई इरानको समर्थन रहँदै आएको छ । यमनमा पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहप्रति बफादार मानिने हुठी विद्रोही र वर्तमान राष्ट्रपति हाडीको समूहबीच श्रृङ्खलाबद्धरूपमा झडप हुँदै आइरहेको छ । द्वन्द्वका कारण अहिलेसम्म ४ हजारभन्दा बढी यमनी नागरिकको मृत्यु भएको छ । जसका कारण यस गरिब खाडी मुलुक मानवीय सङ्कट तथा खाद्यान्न अभावको चरम सङ्कटमा फसेको छ ।