जब ट्वाईलेटको कमोढमै भेटियो अजिंगर
तपाईं जब ट्वाईलेट जानुहुन्छ । कमोढमा अजिंगर गुडुल्किएर बसेको रहेछ भने तपाईंको के हालत हुन्छ ? हो, यस्तै भएको छ । एक पटक होइन, दुई दुई पटक त्यो पनि एक महिनाभित्रै र अष्ट्रेलियाको टाउन्सभील नामक शहरमा । क्वीन्सल्याण्ड राज्य अन्तर्गतको यो शहरमा काम गर्ने ईलियोट बड नामक सर्प समात्ने काम गर्ने एक कर्मचारीको फोनको घण्टी बज्छ । र, उताबाट आफ्नो ट्वाईलेटमा अजिंगर रहेको बताउँछन् । उनी पुग्छन् र त्यसलाई समात्छन् अनि जंगलमा लगेर सुरक्षित छोड्छन् । उनले पहिलो पटक ट्वाईलेटको कमोढबाट निकालेको अजिंगरको लम्बाई तीन मिटर थियो भने अर्को दोश्रो २ दशमलब ४ मिटर लामो अर्थात् करिब ८ फिट । पहिलो अजिंगर समात्न जाँदा उनले थाहा पाए त्यो घर मर्मत हुँदै थियो । धेरै समयदेखि प्रयोग नभएकोले गर्दा शायद कमोडमा सुरक्षित हुने ठानेर अजिंगर बस्यो होला भन्ने सोचें तर दोश्रो पटक त मानिसहरु बसिरहेकै घरको ट्वाईलेटमा भेटियो । मेरा साथीहरु वीसौं वर्षदेखि काम गरिरहेका छन् तर उनीहरुले अहिलेसम्म यस्तो देख्नु परेको थिएन । मैले भने एकै महिनामा यस्ता दुई घटना भोगिसकेको छु । उनले सीएनएनसँगको कुराकानीमा भने । यतिबेला सुक्खा मौसम चलिरहेको छ । यसैकारण शायद जनावरहरु पानीको खोजीमा वा ओसिलो ठाउँ खोज्दै त्यता पुगे होलान् । उनी अनुमान गर्छन् । समातिएका अजिंगर विषालु भने होइनन् । उनी भन्छन्, यी खासै खतरनाक हुँदैनन् । तर, ट्वाईलेटमै त्यो पनि कमोढमा भेटियो भने त मानिसको होसहवास नै उड्छ । उनी सुझाव दिन्छन्, यदि कतै यस्ता अजिंगर देखियो भने, तिनलाई तिनकै हालतमा छोडिदिनुस् केही गर्दैनन् यिनले ।